रौतहट। फिर्दोष आलम ले नेपाल–भारत सीमावर्ती क्षेत्रमा लागू गरिएको कर नीतिप्रति कडा आपत्ति जनाउँदै सरकारलाई तत्काल निर्णय सच्याउन चेतावनी दिएका छन्।
उनले नेपाल र भारत बीच सदियौँदेखि कायम रहेको “रोटी–बेटी” सम्बन्धमाथि नै आघात पुग्नेगरी नीति ल्याइएको आरोप लगाए। सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकले नै सीमाको रक्षा गर्दै आएको उल्लेख गर्दै उनले दैनिक उपभोग्य वस्तु किनमेलका लागि नजिकैका भारतीय बजारमा जाने प्रचलनलाई अव्यवहारिक करमार्फत रोक्न खोजिएको बताए।
आलमका अनुसार भारतीय नम्बर प्लेटका सवारी साधन सीमित क्षेत्रमा प्रयोग गर्ने प्रचलन पुरानै भए पनि अहिले कर उठाउने नाममा मधेसी समुदायलाई अनावश्यक दुःख, हैरानी र मानसिक दबाब दिइएको छ। “यो निर्णयले सीमावर्ती जनतालाई प्रताडित मात्र होइन, आतंकित बनाउने काम गरेको छ,” उनले बताएका छन्।
उनले सरकारलाई सिमारक्षक नेपाली जनताको भावना बुझ्न आग्रह गर्दै उक्त “मधेस विरोधी” निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्। अन्यथा आफ्नो हक, अधिकार र परम्परागत सुविधाको संरक्षणका लागि सीमा क्षेत्रका जनता आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिएका छन्।
सरकारको यो कदमले दुई देशबीचको ऐतिहासिक सामाजिक सम्बन्धमा दरार ल्याउने खतरा बढेको भन्दै उनले समयमै सच्याउनुपर्नेमा जोड दिएका छन्।








