गरुडा,२५ माघ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रौतहटको गरुडा आउने भएका छन् ।
नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न अध्यक्ष ओली आज रौतहटको गरुडा आउन लागेका हुन् । गरुडा स्थित श्रीराम सुगर मिलको प्राङ्गणमा आयोजना हुने उद्घाटन समारोहलाई केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मीले जानकारी दिएका छन् । आज दिउँसो १२ बजे नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा एमाले रौतहटको दशौं जिल्ला अधिवेशनको उद्घाटन गर्नुका साथै सोही उद्घाटन समारोहमा आयोजना हुने बृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य रेग्मीले बताए ।
नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको समय नजिकिँदै जाँदा अध्यक्षका आकांक्षीहरूले समेत आफ्नो सक्रियता बढाएका छन् । नेकपा एमालेको दशौँ जिल्ला अधिवेशन सर्वसम्मत नहुने र नेतृत्व चयनका लागि निर्वाचन नै हुने भएपछि अध्यक्षका आकांक्षीहरूले आफ्नो सक्रियता तीव्र रुपमा बढाएका छन् ।
नेतृत्वले सर्वसम्मतका लागि प्रयास गर्ने र सर्वसम्मत नभए निर्वाचनको प्रक्रिया सुरु गराउने बुझिएको छ ।
नेकपा एमालेको महोत्तरी जिल्ला अधिवेशन समेत सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व छान्ने काम अगाडि बढाइएको छ । रौतहटमा पनि नेतृत्व चयनका लागि चुनावी प्रक्रिया नै हुने भएपछि अध्यक्षका आकांक्षीहरूले आफ्नो सक्रियता तीव्र रुपमा बढाएका हुन् ।
नेकपा एमालेको रौतहट जिल्ला अध्यक्षका लागि अखिलेश्वर चौधरी, रुपेश कुमार पटेल, सचिदानन्द शाह र बवन सिंह आकांक्षी रहेका छन् ।
अध्यक्षका आकांक्षी चौधरी र पटेलले नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनका प्रतिनिधिहरूको घरघरमा गएर भोट माग्ने काम सुरु गरिसकेका छन् ।
जिल्लाभरमै सबैभन्दा धेरै प्रतिनिधि रहेको रौतहट क्षेत्र नम्बर ४ मा यतिबेला अध्यक्षका आकांक्षीहरूको ध्यान केन्द्रित भएको देखिन्छ । यता सचिव पदका लागि चन्द्रपुर नगरपालिकाका नगर अध्यक्ष शिव आचार्य र अनन्त पौडेलले उम्मेदवारी दिने बुझिएको छ ।
नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनलाई विभिन्न पार्टीहरूले गम्भीरताका साथ हेरिरहेको बुझिएको छ । नेकपा एमाले रौतहटको जिल्ला अधिवेसन आज र भोली सम्म गरुडामा हुने आयोजकले बताएको छ ।








