गरुडा,२५ माघ ।
समाचार संकलनमा गएका पत्रकारमाथि रौतहटको कटरिया नगरपालिका– ९ स्थित बाबा बैजनाथ सुगर एन्ड केमिकल प्रालि परिसरमा मंगलबार आक्रमण भएको छ ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका सदस्य कृष्ण तिवारीमाथि बबाबैजुनाथ सुगर मिल परिसरमा आक्रमण भएको हो । आक्रमणबाट पत्रकार तिवारीको छाती र आँखा छेउमा चोट लागेको छ । घाइते तिवारीको गरुडास्थित हेल्थ ल्यान्ड अस्पतालमा उपचार पछि थप उपचारका लागि वीरगन्ज लगिएको छ ।
पत्रकार तिवारीमाथि भएको आक्रमणको पत्रकारहरुको विभिन्न संगठनले भर्त्सना गरेका छन् । पछिल्लो केही दिनदेखि मिलमा उद्योगीले उखुको तौल घटाइरहेको भन्दै किसानले विरोध जनाउँदै आएका थिए ।
मंगलबार सर्लाहीका किसानले ल्याएको उखुको तौल घटेपछि मिल प्रशासनविरुद्ध आन्दोलनमा उत्रिएका थिए । केही समय किसानहरुले उखु जोख्ने स्थानमा नाराबाजी गरे । सोही बेला समाचार संकलनमा पुगेका पत्रकार तिवारीमाथि आक्रमण भएको हो । मिल मालिककै ईशारामा आफूमाथि आक्रमण भएको पत्रकार तिवारीले आरोप लगाए ।
जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको जानकारी दिए । ‘हामीले पत्रकारमाथि आक्रमण गर्ने एक जनालाई नियन्त्रणमा लिइसकेका छौं,’ उनले भने,‘घटनामा अरु पनि सलग्न छ÷छैन भन्ने सोधपुछ भइरहेको छ ’। आमजनता पार्टीका अध्यक्ष पूर्व मन्त्री प्रभु साहले समाचार सङ्कलन गर्न पुगेका रौतहटका एक पत्रकारमाथि कुटपिट गर्नु निन्दनीय भएको बताएका छन। प्रेस समाजवादी सङ्गठनको केन्द्रीय सदस्य पत्रकार तिवारीको छाती र आँखा छेउमा चोट लागेको छ । साहले आफ्नो आधिकारिक समाजिक सञ्जाल फेसबुकमार्फत पत्रकार तिवारी लगायतका पत्रकारहरुमाथि भएको सांघातिक हमला एवं निर्घात कुटपिटको घोर भत्सर्ना गर्दै दोषीलाई कड़ा करवायीको जोड़दार माग गरेका गरेका छन्। नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा, समाजवादी प्रेस संगठनका अध्यक्ष दिनेश यादव संगमले छुट्टा छुटै बिज्ञप्ती निकालेर दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।








