चन्द्रपुर,१ असोज । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ मा रहेको गोपालकुटी माध्यमिक विद्यालयले मनोमानी गरेको आरोप लागेको छ । सो विद्यालयले जनक शिक्षा सामग्री केन्द्रको पाठ्यपुस्तक पढाउनुपर्नेमा त्यसो नगरी मनोमानी गरेको हो । सो विद्यालयले निजी कम्पनीका किताबहरू विद्यार्थीमाथि थोपरेको आरोप लागेको छ ।
विद्यालयका प्राधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको मिलेमत्वमा निजी कम्पनीका पाठ्यपुस्तक विद्यार्थीहरूलाई पढ्न बाध्य पारिएको स्थानीय बासिन्दाले बताएका छन् ।
चन्द्रपुर नगरपालिकाभरि कक्षा १ देखि १२ कक्षासम्म जनक शिक्षा सामग्री केन्द्रका पाठ्यपुस्तक पठनपाठन गराइने भएको भएपनि चन्द्रपुर १ मा रहेको गोपालकुटी माध्यमिक विद्यालयले भने कमिसनको लोभमा एक निजी कम्पनीको पाठ्यपुस्तक विद्यार्थीहरूलाई दिएको हो । विद्यालय व्यवस्थापन समितिको कमिसन मोहका कारण यतिबेला सो विद्यालयका विद्यार्थीहरूले फरक पुस्तक पढ्न बाध्य भएका हुन् । चन्द्रपुर नगरपालिकाको शिक्षा शाखा प्रमुख दीपेन्द्र मण्डलले सो विषयमा आफूलाई जानकारी नभएको बताएका छन् ।
स्थानीय बासिन्दाले शिक्षा शाखा प्रमुख मण्डलकै मिलो मतोमा विद्यालय व्यवस्थापन समिति र विद्यालयका प्रधानाध्यापकले मोटो कमिसनको लोभमा निजी कम्पनीका किताबहरू विद्यार्थीको हातमा थमाएका हुन् । चन्द्रपुर नगरपालिकामा रहेका अन्य विद्यालयहरूले भने जनक शिक्षा सामग्री केन्द्रकै किताब विद्यार्थीहरुलाई दिएका छन् भने सो विद्यालयले मात्र निजी कम्पनीको किताब विद्यार्थीलाई दिँदा समेत स्थानीय अभिभावकहरू चुपचाप बसेको भन्दै स्थानीय बासिन्दा देव भण्डारीले सामाजिक सञ्जाल फेसबुकका स्टाटस समेत पोस्ट गरेका छन् ।
सो विद्यालयले नीति नियम विपरीत चन्द्रपुर नगरपालिकाको मिलेमतोमा विद्यालयका विद्यार्थीका लागि भनेर भाडाको बस समेत सञ्चालन गर्दै आएको छ ।
नियमत भाडाको बस सामुदायिक तथा निजी विद्यालयहरूले सञ्चालन गर्न नपाउने स्पष्ट ऐनमा व्यवस्था रहेको छ । नगरभरि रहेका दर्जनौं विद्यालयहरूलाई नगरपालिकाले खासै वास्ता नगरेको भएपनि चन्द्रपुर १ मा रहेको गोपालकुटी माध्यमिक विद्यालयले सञ्चालन गरेका भाडाका बसमा भने नगरपालिकाले इन्धन हालिदिने गरेको भन्दै त्यसको समेत चर्को आलोचना हुन थालेको छ ।
पछिल्लो समय गोपालकोटी माध्यमिक विद्यालय भ्रष्टहरूको अखडा बन्दै गएको भन्दै स्थानीय स्तरमा चर्को आलोचना हुँदै गएको छ । केही समय पहिला सो विद्यालयको रङरोगनमा समेत व्यापक आर्थिक अनियमितता भएको बुझिएको छ ।
सामुदायिक विद्यालयहरूको अवस्था सुधार गर्दै लैजानुपर्नेमा गोपालकुटी माध्यमिक विद्यालय चन्द्रपुर ज्ञ बागमतीमा भने शिक्षाको अवस्था दिनप्रतिदिन खस्कदै गएको स्थानीय बासिन्दाहरुले बताएका छन् । सो विषयमा बुझ्नका लागि चन्द्रपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बलराम राउतको मोबाइलमा पटकपटक फोन गर्दा उनको फोन उठेन । गोपालकुटी माध्यमिक विद्यालय चन्द्रपुर १ पौराहीमा पछिल्लो समय आएर आर्थिक अनियमिततादेखि लिएर शिक्षकहरूको मनोमानी समेत बढ्दै गएका कारण विद्यार्थीहरूको भविष्य अन्योलमा परेको भन्दै स्थानीयले त्यसको विरोध गर्न थालेका छन् ।