अशोक पहाडी
चन्द्रपुर,१ असोज ।
जिल्लाको वृन्दावन नगरपालिकाका मेयरदेखि हाकिमसम्मले विद्यार्थीको दिवा खाजाको रकम भुक्तानी दिने बेलामा घुस लिने गरेको तथ्य फेला परेको छ । राज्यले प्रति विद्यार्थी १५का दरले दिवा खाजाको रकम दिँदै आएको छ । सोही रकम एकमुष्ट एक वर्षमा निकासा गर्ने क्रममा हरेक विद्यालयसँग वृन्दावन नगरपालिकाका मेयरदेखि हाकिमसम्मले कमिसन लिएर मात्र भुक्तानी दिने गरेको तथ्य बाहिरिएको हो ।
लक्ष्मीनाथ बासुदेव प्राथमिक विद्यालय वृन्दावन दुई धनगढीका प्रधानाध्यापक रम्बु प्रसाद यादवले सो कुरा बाहिर ल्याएका हुन् । विद्यालयमा विद्यार्थीहरूले खाजा खाएको दिवा खाजाको पैसा निकासा गर्ने बेलामा सो विद्यालयका प्रधानाध्यापक यादवसँग वृन्दावन नगरपालिकाका मेयर विनोद प्रसाद कुर्मी र प्रमुख कार्यकारी अधिकृत खिम बहादुर भुजेललाई दिनु पर्छ भन्दै नगरपालिकाका शिक्षा शाखा प्रमुख उपेन्द्र महत्तो मार्फत ५ लाख कमिसन दिएको प्रधानाध्यापक यादवले बताएका छन् ।
सो विद्यालयले एक वर्षसम्म विद्यार्थीलाई दिवा खाजा खुवाएबापतको १० लाखको बिल नगरपालिकामा पुगेको थियो । सोही १० लाख मध्यबाट ५ लाख आफूले शिक्षा शाखा प्रमुख मार्फत नगर प्रमुख र प्रमुख कार्यकारी अधिकृतलाई घुस दिएको बताएका छन् ।
विद्यालयको खातामा दिवा खाजा बापतको १० लाख रुपैयाँ जम्मा हुनुपर्नेमा पाँच लाख रुपैयाँ मात्र जम्मा भएपछि सो विषयमा बुझ्नका लागि विद्यालयमा पुगेका सो वडाका वडा अध्यक्ष सिकेन्द्र पटेल समक्ष प्रधानाध्यापक यादवले आफूले १० लाख मध्येबाट ५ लाख रुपैयाँ घुस दिएको बताएका हुन् ।
विद्यालयका प्रधानाध्यापक यादवले वडा अध्यक्ष समक्ष आफूले मेयर प्रमुख कार्यकारी अधिकृत र शिक्षा शाखा प्रमुखलाई १० लाखमध्ये पाँच लाख रुपैयाँ कमिसन दिएको स्वीकार गरेको भिडियो यतिबेला सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ ।
वृन्दावन नगरपालिका २० वटा सामुदायिक विद्यालयहरू रहेका छन् । ती विद्यालयहरूले वर्षमा तीन महिना मुस्किलले दिवा खाजा खुवाएर अरु दिन विद्यार्थीहरुलाई दिवा खाजा नखुवाउने र नगरपालिकामा कमिसन दिएर एक वर्षको रकम एकमुष्ट निकासा गर्ने गरेको वृन्दावन नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सीकेन्द्र पटेलले बताएका छन् ।
वृन्दावन नगरपालिकामा जे गरेपनि कमिसन दिनुपर्ने अवस्था आएका कारण सर्वसाधारणलाई समस्या उत्पन्न भएको वडा अध्यक्ष पटेलको जिकिर छ ।
वृन्दावन नगरपालिकामा विनोदप्रसाद कुर्मी निर्वाचित भए यता सो नगरपालिका पछिल्लो समय व्यापक विवादमा आएको छ । कमिसन आर्थिक अनियमितता तथा मनलाग्दीका घटनाहरू घट्दै गएपछि रौतहटको वृन्दावन नगरपालिका विवादमा आएको हो ।
वृन्दावन नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत खिमलाल भुजेलले शुभ नगरपालिकाबाट आफ्नो सरुवा रोक्नका लागि सामान्य प्रशासन मन्त्रालयमा गएर पछिल्लो समय ४ लाख बुझाएर आएको भन्दै सामाजिक सञ्जालमा त्यसको समेत व्यापक चर्चा परिचर्चा छ ।
वृन्दावन नगरपालिकामा अन्यत्रभन्दा धेरै भ्रष्टाचार हुने र कमिसन पनि धेरै आउने भएका कारण खिमलाल भुजेल पटकपटक सरुवा भएर गए पनि वृन्दावन नगरपालिकामै आउने गरेको नेकपा माओवादीका मेयर प्रत्याशी रामप्रसाद पटेलले बताए ।