रुपेन्द्र पटेल

रौतहट २४ वैशाख । चन्द्रपुर नगरपालिका वडा नम्बर १ मा बागमती नदी मनलाग्दी रूपमा उत्खनन भएको पाइएको छ । तटबन्दको नाममा बागमती खोला मनलाग्दी उत्खनन भएको भन्दै स्थानीय स्तरमा चर्को विरोध आउन थालेको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष स्वयंले तटबन्धन गरी रहेका छन् । वडा अध्यक्ष बलराम राउतले तटबन्ध गरेका हुन् । तटबन्ध गर्नका लागि राज्यपक्षबाट चाहिने आवश्यक कागजात समेत नभई जथाभावी खोलामा स्काभेटर र डोजर प्रयोग गरिएको भन्दै स्थानीयले चर्को विरोध गरेका छन् । डिभिजन वन कार्यालय रौतहटले खोलामा वडा अध्यक्षले मनलाग्दी रुपमा स्काभेटर र डोजर प्रयोग गरेकाले रोक्नका लागि आग्रह गर्दा समेत वडा अध्यक्षले अटेर गरेको जानकारी दिएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ रौतहटका अध्यक्ष बेधारी दाहालले मनलाग्दी रूपमा वनको जङ्गल र खोला उत्खनन भएकाले तत्काल रोक्नुपर्ने बताएका छन् । वडा अध्यक्ष बलराम राउतले भने आफूले जनताको मागअनुसार आफैले तटबन्धको काम गरिरहेको बताए । बागमतीमा करोडौंको तटबन्द कसरी भइरहेको छ भन्ने प्रश्नमा वडा अध्यक्ष राउतले आफूले कहिँबाट बजेट म्यानेज गर्ने हिसाबले काम गरेको र कतैबाट बजेट नआए आफ्नै घरबारी बेचेर भएपनि तिर्ने बताएका छन् । सो स्थानमा भइरहेको तटबन्धन गर्नका लागि कहाँको बजेट हो भन्ने कुरा समेत स्थानीयले थाहा नपाएको गुनासो गरेका छन्।