ओम किशोर चौधरी, चन्द्रपुर २४ वैशाख । चन्द्रपुर नगरपालिकाको शिक्षा शाखाका प्रमुख दिपेन्द्र मण्डलकै कारण चन्द्रपुरको सामुदायिक विद्यालयको शिक्षा धाराशाही हुने अवस्थामा पुगेको छ । विगत लामो समयदेखि चन्द्रपुर नगरपालिकाको शिक्षा शाखा सम्हाल्दै आएका मण्डलको मनोमानिका कारण शिक्षा क्षेत्रमा समस्या सिर्जना हुँदै आएको स्थानीयको भनाइ रहेको छ । मण्डलकै कारण चन्द्रपुर नगरमा अहिलेसम्म भर्ना अभियान समेत प्रभावकारी हुन सकेको छैन । भर्ना अभियान सफल हुन नसकिरहेको अवस्थामा मण्डलकै मिलेमतोमा एक विद्यालयले निजी कम्पनीको किताब विद्यार्थीलाई वितरण गरेको छ ।
चन्द्रपुर नगरपालिका वडा नम्बर १ मा रहेको गोपालकुटी माध्यमिक विद्यालय बागमतीले नेपाल सरकारको नीति विपरीत निजी कम्पनीका किताबहरू विद्यार्थीलाई थमाउने कामलाई निरन्तरता दिएको छ। केही वर्षदेखि सो विद्यालयले जनक शिक्षा सामग्री केन्द्रको किताब विद्यार्थीलाई दिनुपर्नेमा कमिसनको लोभमा निजी कम्पनीका किताबहरु विद्यार्थीलाई थमाउँदै आएको छ। धेरै कमिसनको लोभमा सो विद्यालयले विद्यार्थीहरूलाई निजी कम्पनीको किताब छपाएको अभिभावकहरुले गुनासो गरेका छन् । चन्द्रपुर नगरपालिकाको शिक्षा शाखा र विद्यालय व्यवस्थापन समितिको मिलेमतोमा कमिसनको लोभमा निजी कम्पनीका किताबहरू विद्यार्थीलाई थमाइएको एक अभिभावकले बताए ।
सो विषयमा उक्त विद्यालयका प्रधानाध्यापक सागर नेपालसँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । स्थानीय अभिभावकहरूले भने चन्द्रपुर नगरपालिकाको शिक्षा शाखाकै कारण सो विद्यालयले विद्यार्थीलाइ निजी कम्पनीका किताबहरू थमाएको हो ।
चन्द्रपुर नगरभित्र रहेका सामुदायिक विद्यालयहरूले जनक शिक्षा सामग्री केन्द्रका पुस्तकहरु विद्यार्थीलाई दिइरहेको बेलामा केही वर्षदेखि गोपालकुटी माध्यमिक विद्यालयले भने निजी कम्पनीका किताबहरु विद्यार्थीलाई थमाउँदै आएको भन्दै स्थानीय स्तरमा चर्को आलोचना हुन थालेको छ । शो कार्यमा शिक्षा शाखा प्रमुख मण्डलकै संलग्नता रहेको स्थानीय अभिभावकहरूको भनाइ रहेको छ।