गौर,१९ भदौ ।
भूमि समस्या समाधान आयोग जिल्ला समिति रौतहटले केन्द्रलाई लेखी पठाएको निवेदनमार्फत गौरस्थित नापी शाखाका नापी अधिकृत मोहन महासेठमाथि गम्भीर आरोप लगाइएको छ ।
विगत तीन–चार वर्षदेखि नापी कार्यालय गौरमा काजमा रहेका महासेठले आफ्नो पदीय जिम्मेवारी पन्छाउँदै आयोगको निर्णय र कार्यविधि विपरीत मनोमानी काम गरेको निवेदनमा उल्लेख छ ।
उनले आयोगका पदाधिकारीसँग कुनै समन्वय नगरी कार्यालय सहयोगीलाई आफ्नै आवासमा राख्ने, स्थानीय तहमा खटाइएका कर्मचारीलाई अन्तिम सूचना प्रकाशनको बेला फिर्ता बोलाउने, बैठक राख्न नमान्नेजस्ता गतिविधि दोहोर्याएको आरोप लगाइएको छ । भुमि समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष अखिलेश्वर चौधरी र विज्ञ सदस्य गणेश चौलागाईँले हस्ताक्षर गरी पठाइएको निवेदनमा, आयोगका मधेश प्रदेश संयोजकको निर्देशनसमेत अटेर गर्दै महासेठले आयोगको कार्ययोजना अघि बढ्न नदिने गरी अवरोध सिर्जना गरेको उल्लेख छ । समितिले यसअघि मौखिक रुपमा र जिल्ला प्रशासन कार्यालयमार्फत पटकपटक सम्झाए पनि महासेठले अटेरी व्यवहार देखाएको भन्दै तत्काल कारबाहीको माग गरिएको छ । “अब पनि कारबाही भएन भने आवश्यक अन्य पहल लिन हामी बाध्य हुनेछौं, त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायकै हुनेछ,” निवेदनमा चेतावनी दिइएको छ ।
यो उजुरीको प्रतिलिपि भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी तथा मालपोत विभाग, जिल्ला प्रशासन कार्यालय रौतहट तथा आयोगका सबै सदस्यहरूलाई पठाइएको छ ।








