रौतहट,१९ माघ ।
चन्द्रपुर नगरपालिका–७ नयाँबस्तीका ४५ वर्षीय रामविश्वास साह र उनका छोरा रुपेशले नौ दिनसम्म निरन्तर धाए पनि ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरबाट नागरिकता पाउन सकेका छैनन्।
बारम्बार कार्यालय धाउँदा दिक्क भएका रामविश्वासले सोमबार सार्वजनिक रूपमा प्रशासनका कर्मचारीविरुद्ध असन्तुष्टि व्यक्त गरेका हुन्।
साहले माघ ११ गते छोरा रुपेशकुमार साहको नागरिकताका लागि ईलाका प्रशासन कार्यालयमा निवेदन दिएका थिए। सो क्रममा उनले आफ्नो पुरानो नागरिकता प्रतिलिपि पनि पेस गरेका थिए। तर, कार्यालयले रामविश्वासको अभिलेख फेला नपरेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको थियो।
जिल्लाबाट समेत अभिलेख नभेटिएको जवाफ आएको रामविश्वासले बताए। “कहिले गौर जानु भन्छन्, कहिले अनलाइन गराउन भन्छन्। छोराको नागरिकता बनाउन आएको थिएँ, अहिले मेरै नयाँ नागरिकता बनाउ भन्छन्। तर केहि न केही बहाना बनाउँदै झुलाइरहेका छन्,” उनले गुनासो गरे।
लगातार कार्यालय धाउनुपर्दा आफू अत्यधिक थकित भएको उनले बताए।








