वीरगञ्ज, १४ चैत — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा वीरगञ्जमा एमाले कार्यकर्ताहरू सडकमा उत्रिएका छन्।
शनिबार बिहान अध्यक्ष ओलीलाई पक्राउ गरिएको विरोधमा नेता–कार्यकर्ताहरूले घण्टाघर चोकमा भेला भएर चर्को नाराबाजीसहित प्रदर्शन गरेका हुन्।
पार्टीको निर्णयअनुसार आयोजना गरिएको विरोध कार्यक्रममा जनवर्गीय संगठनहरूको उल्लेख्य सहभागिता रहेको एमाले मधेश प्रदेशका उपाध्यक्ष विचारी यादव ले जानकारी दिए।
उनका अनुसार अध्यक्ष ओलीको पक्राउ ‘सरकारको प्रतिशोधपूर्ण कदम’ भएकाले तत्काल रिहा गर्नुपर्ने माग गरिएको छ। “राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको यस्तो कदमले लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार गरेको छ,” उनले भने।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा राज्य पक्षबाट दमन भएको भन्दै एमालेले त्यसको जिम्मेवारी खोज्नुपर्ने बताउँदै आएको छ। सोही घटनासँग जोडेर हालका गिरफ्तारीहरू भएको भन्दै पार्टीले आपत्ति जनाएको छ।
उक्त समयका प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक समेत पक्राउ परेपछि एमालेले देशव्यापी विरोध कार्यक्रम सुरु गरेको हो।
वीरगञ्जको प्रदर्शनले आगामी दिनमा आन्दोलन अझ सशक्त बन्ने संकेत दिएको एमाले नेताहरूको भनाइ छ।