रौतहट, १४ चैत ।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले वर्तमान सरकारमाथि प्रतिशोधको राजनीति गरिरहेको आरोप लगाएको छ ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि साम्पाङले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका हुन् ।
फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले देश गलत दिशातर्फ उन्मुख भइरहेको संकेत गरेका छन् । “मैले पहिले नै भनेको थिएँ, जसले जिते पनि प्रतिशोधकै राजनीति हुन्छ,” भन्दै उनले ओखलढुंगामा दिएको चेतावनी अहिले पुष्टि भइरहेको दाबी गरे ।
साम्पाङले “प्रगतिको राजनीति श्रम संस्कृतिमै सम्भव छ” भन्दै वर्तमान सत्ता अभ्यासप्रति असन्तुष्टि जनाएका छन् । साथै उनले अब देश आन्दोलनतर्फ जाने स्पष्ट संकेत दिएका छन् ।
“अब हुने भनेको आन्दोलन, आन्दोलन अनि आन्दोलन मात्रै हो,” उनले लेखेका छन् ।
उनको यस अभिव्यक्तिले देशको पछिल्लो राजनीतिक घटनाक्रमलाई थप तरंगित बनाउने देखिएको छ । विश्लेषकहरूका अनुसार साम्पाङको यस्तो आह्वानले सडक राजनीति झनै चर्किन सक्ने संकेत गरेको छ ।








