मनहरी । प्रदेश नम्बर ३ को नामकरण र राजधानी कहाँ राख्ने भन्ने विषयमा अझै टुङ्गो लाग्न सकेको छैन । प्रदेशको नामकरण गर्ने विषयमा अहिले निकै चर्चा चलेको छ । प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम गौरीशङ्कर, वाग्मती, नेवा ताम्सालिङ, काठमाडौँ मण्डल, गोसाइँकुण्ड, शैलुङजस्ता नाम छन् ।

राजधानीबारे मकवानपुर, चितवन, काभ्रेमा राजधानी हुनुपर्छ भनेर प्रस्ताव दर्ता भएको छ । प्रदेश सरकारले सबै सांसदसँग परामर्श गरेर नामको अन्तिम टुङ्गो लगाउने छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नम्बर ३ का सचिव तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले प्रदेशको नामकरण र राजधानी दुवै सबैको सहमतिमा राखिने सुनाउनुभयो । ‘प्रदेशको नाम राख्ने र राजधानी कहाँ राख्ने विषयमा प्रदेश सांसदले संवैधानिक अधिकार प्रयोग गर्नुभएको छ, सर्वसम्मत रुपमा नाम र राजधानी हुन्छ,’ सचिव पोखरेलले भन्नुभयो, ‘कतिपय सांसदलाई मेरै जिल्लामा हुनुपर्र्छ भन्ने छ तर त्यस्तो ठान्नु हुँदैन ।’ उहाँले सर्वसम्मत ढङ्गले पार्टीको निर्देशन मान्नुपर्ने धारणा राख्नुभयो । उहाँले केरुङ, तातोपानी र लामावगर नाका खोल्ने तयारीमा प्रदेश लागेको जानकारी दिनुभयो ।

प्रदेशले विकासका लागि हेटौँडा–कुलेखानी, टोखा–छहरे, नौबिसे–सुरुङमार्ग बनाउँदा राम्रो हुने योजना बनाएको छ । प्रदेशलाई शून्य कार्बनको प्रदेश बनाउने र भ्रष्टाचारमुक्त प्रदेश बनाउने अभियानमा लागेको छ । ‘भ्रष्टाचारमुक्त प्रदेश बनाउन मुख्यमन्त्री डोरमणि पौडेलदेखि सबै मन्त्रीहरु लागिरहनुभएको छ,’ नेता पोखरेलले भन्नुभयो, ‘यो प्रदेश समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा लागेको छ ।’

प्रदेशले जनताउन्मुख बजेट आगामी असार एक गते ल्याउने तयारी गरेको छ । राष्ट्रिय आयभन्दा माथि आर्थिक वृद्धिदर बनाउने लक्ष्य राखेको छ । सरकारले सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य पूरा गर्ने र सरकारले तय गरेको समृद्ध नेपाल र सुखी नेपालीको बाटो पनि नीति तथा कार्यक्रमलाई जोडेर ल्याउने तयारी गरेका छ । प्रदेशमा रहेको गरिब र विपन्नतालाई कसरी सम्बोधन गर्ने भनेर साधन र स्रोत उचित परिचालन गर्ने योजना बनाएको छ ।