ओम प्रकाश यादव,२६ भदौ / देशैभरी महामारीको रुप लिएको डेंगु रोगको संक्रमणबाट बाच्नको लागि जिल्ला प्रहरी कार्यालय रौतहटले सावधानी अपनाउन जिल्लाबासीलाई अनुरोध गरेको छ । विगत केहि दिनदेखी देशको ५६ जिल्लामा डेंगु रोगको संक्रमण फैलिसकेको छ र हालसम्म डेंगुबाट ६ जनाको मृत्यु समेत भइसकेको छ भने चार हजार भन्दा बढी विरामी परेका छन । डेंगु रोगको संक्रमण रौतहट जिल्लामा समेत देखिन थालेको हुंदा सम्पूर्ण नागरिकहरुलाई सचेत रहन रौतहट प्रहरीले अनुरोध गरेको हो । जिल्लाको चन्द्रपुर र मौलापुर नगरपालिकाका केही व्यक्तिहरु डेंगुबाट संक्रमित भई विभिन्न अस्पतालहरुमा उपचार गराईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । १८ वटा स्थानीय तह रहेको रौतहट जिल्लामा अहिलेसम्म दुईवटा स्थानीय तहमा डेंगुको संक्रमण फैलिसकेको र अरु स्थानीयतहमा पनि विस्तारै संक्रमण फैल्नसक्ने भएको हुनाले समयमै सचेत भई संक्रमणबाट जोगिन प्रहरीले आग्रह गरेको हो । लामखुट्टेको टोकाईबाट डेंगु रोग सर्ने भएकोले संक्रमणबाट बच्ने उत्तम उपाय भनेको लामखुट्टेको टोकाईबाट बच्नु नै हो । यदि संक्रमण नै भई सकेको भए जतिसक्दो छिटो राम्रो अस्पतालमा उपचार गराउन सुझाव प्रहरीले दिएको छ । डेंगु हुंदा बढी ज्वरो आउने, ५ देखि ७ दिनसम्म जिउ एकदमै दुख्ने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आंखामुनि दुख्ने, खटिरा आउने, रक्तस्राव बढी हुने, बान्ता हुने, बिरामी सिकिस्त हुने, पिसाब कम हुने, रक्तचाप निकै कम हुने र शरीरमा प्लेटलेट्सको संख्या कम हुने जस्ता लक्ष्ण देखा पर्ने गरेको चन्द्रपुर सरकारी अस्पतालका स्वास्थ्य शाखा प्रमुख अभय ठाकुरले बताए । डेंगुका अधिकांश रोगी सामान्य उपचारपछि निको हुने भए पनि वेलैमा उपचार नगरेमा मानिसको ज्यानै समेत जान सक्छ,ठाकुरले भने ।