गौर,१४ कार्तिक / नेकपा प्रदेश २ का अध्यक्ष तथा रौतहट क्षेत्रनं ३ का सांसद प्रभु साहले रौतहट जिल्लाको विकासको बाधक प्रदेश सरकार र कांग्रेसका ठेकेदार भएको बताएका छन् ।
दिपावली तथा छठ पर्वको अवसरमा जिल्लाको बिभिन्न स्थानमा आयोजना भएको शुभकामना आदान प्रदान कार्यक्रममा साहले प्रदेश सरकार बिभिन्न बाहना बनाउने र विकास निर्माणको ठेक्का पाएका कांग्रेसका ठेकेदार आलटाल गर्ने प्रबृती बढदै गएको बताएका हुन् ।
साहले रौतहट जिल्लाको विकासका लागि आफुले ठुला ठुला योजना ल्याएको भएपनि ती काम गर्ने ठेकेदारले काममा ढिला सुस्ती गरेको बताउदै आएका छन् । अध्यक्ष साहले सरकार पूर्वाधार निर्माण र तीव्र आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यका साथ अगाडि बढेको बताए ।
अध्यक्ष साहले भने, हाल देशमा पूर्ण बहुमतसहित नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार छ ।
हिजो परिवर्तनका लागि लडेको नेकपा आज मुलुकलाई समृद्धिको यात्रातर्फ अगाडि बढाउदै छ ।
हामीले झट हेर्दा देशमा त्यस्तो केही भएको छैन जस्तो लाग्न सक्छ तर म आग्रह गर्न चाहन्छु लामो सोचका साथ काम गर्दा अलि समय लाग्छ । ठुलो प्रतिफल दिने परियोजना अगाडी बढेको छ ।तपाईंहरु आफ्नै परिवेशमा भएको परिवर्तन पनि हेर्नुस् साहले भने ।
कम्युनिष्ट सरकारले बिगतको बेथिति हटाउदै जनहितमा काम गरिरहेको उनले बताए । कटहरियामा आयोजित कार्यक्रममा प्रदेश सांसद कुन्दन कुश्वाह,कटहरिया नगरप्रमुख सियाराम कुश्वाहा,मौलापुर नगरप्रमुख रिना कुमारी साह नेकपा प्रदेश कमिटि सदस्य रजुउदिन आलम लगायतकाले वर्तमान सरकारले नै सुखी नेपाली र समृद्ध नेपालको सपना साकार गर्ने बताए ।