निजगढ,२८ कार्तिक / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षको समेत साथ पाएको सरकारलाई सीमासम्बन्धी सबै समस्या समाधान गर्न सबैभन्दा उत्तम समय भएको बताएका छन् । बाराको निजगढमा बुधबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले सीमा समस्या विगत देखिकै समस्या भएपनि वर्तमानमा जस्तो स्थिर सरकार र सवै राजनीतिक शक्तिको साथ यस अघि कहिल्यै नपाएको बताए । सीमाको समस्या धेरै पहिलेदेखि हो । तर, यो पटक हामी चुक्न हुदैन । हामीले प्रधानमन्त्रीलाई भनेका छौं, तपाईंले कूटनीतिक पहल गरेर समाधान गर्नु जरुरी छ, उनले भने, दक्षिणतिर मात्र होइन, नेपालको उत्तरी भागमा पनि सीमा विवाद छ । आफ्नो देशको सीमा सुरक्षाका लागि हामी एक छौं । प्रधानमन्त्रीको गफ मात्रै हो कि काम पनि हो, हामीले हेर्ने बेला आएको छ । नेता पौडेलले कांग्रेसलाई अब नयाू शिराबाट अगाडि बढाउन जरुरी रहेको बताउदै त्यसका लागि छिट्टै महाधिवेशन कार्यतालिका तय गरेर अगाडि बढ्नुको विकल्प नभएको स्पष्ट पारे । कार्यकर्ताको न्याय, निष्पक्ष र पारदर्शी मुल्याङकन आवश्यक छ । दुई महिनामा गर्नुपर्ने काम अब महाधिवेशनको तयारी थाल्नुपर्ने बेलामा गरेर काम छैन । उनले भने,अब जालझेलको राजनीतिले पार्टी टिक्न सक्दैन् । यो पक्ष उ पक्ष होइन पार्टीलाई ठूलो मिसनमा अगाडि बढाउन अब कांग्रेसको कार्यकर्ता भएर काम गर्नुपर्ने बेला आएको छ । अहिलेको उपनिर्वाचनले हाम्रो जनमतको नमूना देखाउछ ।