गरुडा,२१ मंसिर / जिल्लाको ग्रामीण क्षेत्रमा लाग्ने हाटबजार सडकको नजिक हुने गरेकाले आवतजावतमा समस्या हुने गरेको छ । स्थानीयको हाटबजारप्रति आकर्षण बढ्दै गए पनि सडक नजिकमा नै हटिया लाग्ने गरेकाले सवारीसाधन आवागमनमा समस्या पर्ने गरेको हो । चन्द्रनिगाहपुर–गौर राजमार्गको सडकखण्डनजिक अधिकांश हाटबजार लाग्ने गरेका छन् । सडकका दायाँबायाँ दुवैतिर व्यापारीले सामान राखेर बिक्री गर्ने गरेकाले सवारीसाधन सञ्चालनमा कठिनाइ हुने गरेको सवारीचालकहरुको गुनासो छ । हाटबजारका दिन मानिसको भिडभाड हुने र सवारीको चाप पनि बढेका बेला सवारी चलाउन कठिनाइ हुने गरेको उनीहरु बताए । प्रायः प्रत्येक दिन सो सडकखण्डमा पर्ने विभिन्न चोकमा हाटबजार लाग्ने गरेको हुन्छ । सो सडकखण्डमा पर्ने प्रत्येक चोकचोकमा साताको दुई दिन हाटबजार लाग्ने गर्छ । गाउघरमा उत्पादित सामान विक्री(वितरण गर्न तथा दैनिक उपभोग्यसहित अन्य सामग्री खरिद गर्न हाटबजार सजिलो भएकाले स्थानीय आकर्षण भने बढ्दै गएको छ । हाटबजारले स्थानीयको जीवनयापनलाई सहज बनाए पनि बजार व्यवस्थित नहुंदा समस्या भएको स्थानीयको भनाई छ । दैनिक उपभोग्य सामानदेखि लत्ताकपडा, जुत्ता–चप्पलदेखि सिगारका सामग्रीसहित आवश्यक सम्पूर्ण सामान गाउमै लाग्ने हाटबजारमा पाइने गरेकाले सहज भएको स्थानिय बताँउछन । तर, सडक नै कब्जा गरी हाटबजार लाग्ने गरेकाले समस्या भने देखा परेको उनीहरुको गुनासो छ । गाउमा उत्पादन भएका तरकारी तथा फलफूल अहिले हाटबजारमै खपत हुने गरेको व्यापारी बताउछन् ।
तर, हाटबजार सडकमा लाग्ने गरेकाले सवारी आवागमनमा समस्या भएको यमुनामाई गाउपालिका प्रमुख श्रीप्रसाद मुखियाले बताउनुभयो । राजमार्गमा बजार नलगाउन पटकपटक अनुरोध गर्दासमेत बेवास्ता गरेको उहांको भनाइ छ । सडक आवतजावतमा नै समस्या हुने गरी जिल्लाभर दर्जनौ स्थानमा बजार लाग्ने गरेको छ । स्थानीय तहमा जनप्रतिनिधि आइसकेकाले यस्ता समस्याको समाधान गर्नुपर्ने स्थानिय अगुवाहरुको भनाई छ ।