जनकपुरधाम, २८ मंसिर / धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा शुक्रबार मध्यरातमा शक्तिशाली बम विस्फोट भयो। घटनामा एक प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु भएको हो। अन्य तीनजना गम्भीर घाइतेसमेत भएका छन्। विस्फोटमा परी राजेश्वर साह र उनका छोरा आनन्द साह र इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षक अमिर दाहालको मृत्यु भएको छ। राजेश्वर र उनका छोरा आनन्दको घटनास्थलमै र प्रहरी निरीक्षक दाहालको उपचारका क्रममा धरानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए। घटनामा प्रहरी जवान रिजन महतो, मृतक राजेश्वरका अर्का छोरा प्रकाश र छोरी अञ्जली पनि घाइते छन्। उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ। उपचारका लागि धरान नै लगिएको छ। बमको छर्रा उनीहरुको शरिरको विभिन्न भागमा लागेको स्थानीयले बताएका छन्। मृतक बाबु–छोराको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लगिएको छ। कसरी भयो घटना? विस्फोट मृतक राजेश्वरको आँगनमै भएको छ। घरको अगाडि एउटा गेट र बीचमा अर्को दोस्रो गेट छ। फलामको दोस्रो गेटमा रातो झोला झुण्डिएको परिवारका सदस्यले देखे। शंका लागेपछि प्रहरीलाई शुक्रबार राति करिब ११ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई खबर गरे।