गरुडा,१९ माघ / रौतहटको मध्य भाग जयनगरमा काठको ठुलो फर्निचर मेला लागेको छ । प्रत्यके वर्ष श्रीपञ्चमीदेखी लाग्ने फर्निचर मेला यस वर्ष पनि श्रीपञ्चमी देखी शुरु भएको हो । मेलामा विगतको भन्दा निकै बढी फर्निचर बिक्रीका लागि ल्याइएको छ ।
रौतहटका विभिन्न भागबाट फर्निचर व्यवसायीले मेलामा फर्निचर ल्याएका छन् भने छिमेकी जिल्ला बारा र सर्लाहीबाट पनि अत्यधिक मात्रामा काठका फर्निचर मेलामा ल्याइएको छ ।
अन्य वर्षको तुलनामा करीब २५ प्रतिशतले फर्निचर बढेको मेलामा नियमित सहभागी हुँदै आएका सूर्यदेव फर्निचर उद्योग सखुअवा धमौराका राम अयोध्या ठाकुरले बताए ।
हरेक वर्ष फर्निचर मेलामा व्यापार बढ्दै जँदा फर्निचर व्यवसायी पनि उत्साहित हुदै गएका छन् ।
मेलामा फर्निचर आउने क्रम अझै जारी रहेको छ ।
पलङ, डाइनिङ सेट, कुर्सी, खाट, खटिया, चारपाई, बे्रन्च, ढोका, टेबल, ड्रेसिङ टेबल, झ्याल, दराज, बालबालिकाका खेलौनालगायत घरायसी प्रयोजनका करीब सबै काठका फर्निचर मेलामा आउने गरेका छन् । दुई सयभन्दा बढी व्यवसायीले हरेक वर्ष मेलामा फर्निचर ल्याउने गरेका छन् । मेलामा फर्निचर सस्तो पाउने गरेका कारण हरेक वर्ष व्यापार बढ्दै गएको छ । अन्य समयमा सामान किनेको भन्दा जयनगर फर्निचर मेलामा २५ प्रतिशतभन्दा बढी सस्तो हुने गरेको पाइएको छ । आफ्नै काठ र आफैले फर्निचर बनाउने हुनाले तुलनात्मकरूपमा फर्निचर सस्तो हुने गरेको व्यवसायीहरू बताउछन् ।
मेलाबाट देशका विभिन्न भागका साथै भारततर्फ पनि फर्निचर लैजाने गरिएको छ । पर्सादेखि महोत्तरीसम्मका ग्राहक फर्निचर किन्न मेलामा पुग्ने गरेका छन् । मुख्य गरी बिहेमा दाइजो दिनेहरूका लागि फर्निचर मेला पहिलो रोजाइ हुने गरेको छ भने सस्तो रोज्नेहरूले पनि मेलाबाटै फर्निचर लैजाने गरेका छन् । करीब एक महीनासम्म चल्ने जयनगर फर्निचर मेला सम्भवतः देशकै ठूलो काठे फर्निचर मेलाको रुपमा रहेको छ ।
२०६५ साल देखी प्रत्येक बर्ष बसन्त पञ्चमी देखी सुरुभएर चैत्र महिनाको रामनवमी सम्म चल्ने जयनगर फर्निचर मेलाको अर्को आकर्षण रहेको छ फलामको बिभिन्न प्रकारको कृषियन्त्र निर्माण तथा बिक्री बितरण हुने गरेको छ ।
उक्त मेलामा स्थानिय मिस्त्री,बारा,सर्लाही,का साथै भारतको बिभिन्न ठाउबाट आएका मिस्त्रीहरु फलामको कोदालो,हँसिया,कुटो, बञ्चरो खुकुरी,लगातका सामग्री निर्माण गरेर बिक्रि गर्दछन ।
राम्रो फलाम तथा स्प्रिंग फलामको निर्माणहुने भएकाले टाढा टाढा बाट आउने मानिसहरु जयनगर मेला बाट फलामको सामान खरिख गरी लाने गर्दछन । यसबर्षको फर्निचर मेलामा २२ करोडको कारोबार हुने लक्ष्य रहेको मेला समितिका अध्यक्ष बिरेन्द्र यादवले बताए । गतबर्ष मेलामा २१ करोडको कारोवर भएको थियो ।