महोत्तरी,२० फागुन / महोत्तरीका एकजना वडाध्यक्षसंग दोहरो नागरिकता रहेको भन्दै प्रशासनमा उजुरी परेको छ । महोत्तरीको रामगोपालपुर नगरपालिका वाडा नं ५ का वाडाध्यक्ष जितेन्द्र चौधरी भारतीय नागरिक रहेको दावीसहित जिल्ला प्रशासन कार्यालय महोत्तरीमा उजुरी परेको हो ।
रामगोपालपुर नगरपालिका ८ बस्ने हरिश्चन्द्र ठाकुरले वडाध्यक्ष चौधरीमाथि जिल्ला प्रशासन कार्यालय महोत्तरीमा जाहेरी दर्ता गराएका हुन् ।
स्थानिय तहको चुनावमा स्वतन्त्रबाट वडाध्यक्षमा निर्वा्चित चौधरी भारतको सितामढी जिल्लाको सिरसिया बजारको बासिन्दा रहेको ठाकुरको दावी छ । ठाकुरले उजुरीसंगै पेश गरेको प्रमाणमा भारतीय निर्वाचन आयोगको फोटो सहिततको मतदाता नामावलीमा वडाध्यक्ष चौधरी र उनका बुबाको नाम रहेको छ । वडाध्यक्ष चौधरी २०१९ मा भारतमा सम्पन भएको लोकसभा चुनावमा भोट खसालेको प्रमाण समेत उजुरीकर्ता ठाकुरले पेश गरेका छन । फर्जि कागजात पेश गरेर वाडाध्यक्ष चौधरीले भारतिय नागरीकताको साथै नेपाली नागरिकता पनि लिएको उजुरीकर्ताको आरोप छ ।
एकमहिना अघि नै जिल्ला प्रशासनमा प्रमाणसहित उजुरी दिएपनि हालसम्म त्यसमाथि कुनै सुनुवाइ नभएको उजुरीकर्ता ठाकुरले गुनासो गरे । यता महोत्तरीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रिले निवेदन आइसकेको र वडाध्यक्ष चौधरीमाथि अनुसन्धान भइरहेको बताए ।
यसअघि रामगोपालपुर नगरपालिका कार्यालयमा वडाध्यक्ष चौधरी भारतीय नागरिक भन्दै उजुरी परिसकेको छ । नगरपालिकाको न्यायिक समितिसंग नागरिकता सम्बन्धी कुनै प्रकारको अधिकार नरहेकाले प्रशासनसंग अनुसन्धान गर्न आग्रह गरेको न्यायिक समितिका अध्यक्ष समेत रहेकी उपमेयर सीता साहले बताइन् । नेपालको संविधानमा कुनै व्यक्तिले दोहरो नागरीकता लिएको भए दण्ड जारिवानसहित जेल सजाय हुने प्राबधान रहेको छ ।