काठमाण्डौ,१३ चैत । ट्राफिक प्रहरीले लकडाउन उल्लंघन गर्ने सवारीसाधनलाई संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गर्ने तयारी गरेको छ । लकडाउन उल्लंघन गर्नेको संख्या बढेपछि ट्राफिक प्रहरीले बिहीबारबाट कारबाहीको तयारी थालेको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार लकडाउन उल्लंघन गर्नेमा सबैभन्दा धेरै मोटरसाइकल छन् । बुधबार मात्रै लकडाउन उल्लंघन गर्ने सात सय ७० मोटरसाइकल नियन्त्रणमा लिइएको थियो । उपत्यकाबाट मात्रै आठ सय ९१ सवारीसाधनलाई नियन्त्रणमा लिइएको महाशाखा प्रमुख एसएसपी भीम ढकालले बताए । उनले भने, ‘लकडाउन उल्लंघन गर्नेको संख्या धेरै देखियो । बुधबार मात्रै नौ सयको हाराहारीमा यस्ता सवारीसाधन नियन्त्रणमा लिइयो । बिहीबारबाट पनि अवस्था यस्तै रहे संक्रामक रोग ऐन, २०२० र ट्राफिक नियम उल्लंघन नियमअनुसार कारबाही गर्छौँ ।’

संक्रामक रोग ऐन, २०२० अनुसार लकडाउन उल्लंघन गर्नेलाई सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले एक महिना कैद वा एक सय रुपैयाँ जरिवाना गर्न सक्नेछ । तर, लकडाउनका निम्ति सरकारले खटाएको अधिकारीलाई काममा बाधा खडा गरे उल्लंघनकर्तालाई ६ महिना कैद वा ६ सय रुपैयाँसम्म जरिवाना गर्न सकिनेछ । यो मुद्दाको अन्तिम फैसला पनि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले नै गर्नेछन ।