ओम प्रकाश यादव गरुडा ३० चैत्र । सरकारले गरेको लकडाउनका कारण पुरै देश नै ठप्प छ । लकडाउनका कारण दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने गरिव, मजदुर, असाहाय तथा अति विपन्न परिवारलाई यतिखेर छाक टार्न धौ धौ परिरहेको छ । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९ं) फैलिन नदिन तथा यसको रोकथामका लागि सरकारले गरेको लकडाउनले अति विपन्न परिवारको जिवन कष्टकर बनेपछि रौतहटको माधवनारायण नगरपालिकाले पनि राहत बाँडन शुरु गरेको हो । माधवनारायण नगरपालिकामा नौ वटा वडा रहेको छ । वडा नं ९ गढोबाट राहत वितरण गर्न शुरु गरिएको नगरपालिकाले जनाएको छ । गढोमा शनिवार १ सय २५ परिवारलाई प्रति परिवार २५ किलो चामल, ३ किलो दाल, ३ किलो आलु, १ लिटर खाने तेल र १ किलो नुनको दरले राहत वितरण गरिएको नगर प्रमुख विरेन्द्र यादवले जानकारी दिनुभयो । नगरभरीका ३१ सय ७ गरिव, असाहाय परिवारलाई राहत बाँडने नगर प्रमुख यादवले बताउनुभयो । कोरोनाबाट बच्न यस अघि नै नगरपालिकाले नगरभर ३५ हजार मास्क, २० हजार साबुन र सेनिटाईजर वितरण गरिसकेको छ । त्यस्तै मच्छर र माच्छी मार्न अहिले नगरका प्रत्येक वडामा किटनाश्क औषधी पनि पठाई सकेको र औषधी छर्ने काम पनि जारी रहेको नगरपालिकाले जनाएको छ । त्यस्तै जिल्लाको गौर, परोहा र इशनाथ नगरपालिकाले राहत वितरण गरेसकेको छ भन्ने देवाही गोनाही, वृन्दावन, गढिमाई लगाएतका स्थानीय तहमा अहिले राहत वितरण जारी रहेको छ ।