अशोक पहाडी
रौतहट,४ बैशाख । लकडाउनको समयमा रौतहट जिल्लाको राष्ट्रिय वनमा जंगली जनावरको चोरी सिकार बढेको छ । जिल्लाको वनमा दैनिक जसो जंगली जनावरको चोरी सिकार बढेको स्थानीयले बताएकाछन् । सिकारीले केहीदिन पहिला रौतहटको वनमा आगलागि गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख बिनोद सिंहले बताए ।
करिब ३ हेक्टर क्षेत्रमा लगाइएको आगो नियन्त्रणमा आएको उनले बताए । ‘लकडाउनको मौका छापेर वनमा सिकार गर्नेहरुले हैरान पारिसके,’ उनले भने, ‘जंगलभित्र प्रवेश गरी आगो लगाउने र वन्यजन्तुलाई अप्ठेरोमा पारेर सिकार गर्ने गरेका छन् । उनीहरु विरुद्ध अपरेसन सुरु गरिसकेका छौं । तर स्थानीयले भने जंगलमा सिकारीले मारेको सिकार वन कर्मचारी ,सुरक्षा निकायका प्रमुख तथा स्थानीय राजनैतिक दलका नेताको समेत पुग्ने गरेको छ ।
कोभिड–१९ को संक्रमण रोक्न सरकारले लकडाउन गरेको मौका छापी सिकारी फेरि राष्ट्रिय वन प्रवेश गर्न थालेका छन् । उनीहरू बँदेल, हरिण, नीलगाई, खरायोलगायत जन्तु मार्ने गर्छन् । लकडाउनको फाइदा उठाउँदै काठ तस्कर पनि हाबी हुने देखेर गस्ती बढाइएको डिभिजन वनप्रमुख विनोद सिंहले बताए । ‘राष्ट्रिय वनभित्र सिकारीले जन्तु मार्छन् भनेरै हामीले उच्च सतर्कता अपनाउँदै गस्ती गरेका छौं,’ उनले भने, ‘अवैध हतियार बोकेर वन्यजन्तु मार्न स्थानीय नै अग्रसर हुन्छन् ।’
सिकारीले गाउँका सोझासाझालाई मासुको लोभ देखाएर समूह बनाई वन लैजान्छन् । सुकेको पत्करमा आगो सल्काउँछन् । चारैतिर आगो फैलिएपछि वन्यजन्तु सकसमा परेर भाग्न खोज्छन् । सिकारीहरू हतियारसहित गौंडा कुरेर बस्छन् र त्यहाँबाट निस्कन खोजेका वन्यजन्तुलाई निसाना लगाउँछन् । उनीहरूले गाउँघरबाट झोरुवाका रूपमा मानिस लैजान्छन् । डढेलो छल्दै भाग्ने वन्यजन्तुलाई झोरुवाले सिकारी भएकातिर धपाउँछन् । सिकारपछि झोरुवाले पनि केही भाग पाउँछ । हतियार नहुनेले जाल थापेर सिकार गर्छन् ।
जिल्लाका चोचा, चन्द्रपुर, गैंडाटार, रंगपुर, बलरी क्षेत्रमा वन्यजन्तु मारिने गरेको स्थानीय बताउँछन् । यहाँ अझै पनि धेरैका घरमा अवैध हतियार राखिएको छ । सिकार गरेर ल्याइएको वन्यजन्तुको मासु लुकाएर गाउँघरमा बिक्री हुने गरेको पाइएको छ ।
फागुन, चैत र वैशाखमा वनमा डढेलो लाग्ने र वन्यजन्तु बाहिर निस्कने भएकाले सिकार गर्ने समूह यो बेला अझ सक्रिय हुने गरेको छ । रौतहटको वनबाट दैनिक दर्जनबढी जंगली जनावरको सिकार हुने गरेको सन्तपुरका स्थानीय बासिन्दा बिनोद चौधरीले बताए ।
फाईल फोटो
#चोरी #सिकारी#