अमृत सापकोटा,चन्द्रपुर,१६ फागुन ।
चन्द्रपुर नगरपालिका वडा नं. ९ नजरपुरमा रहेको श्री कृष्ण प्रणामी मन्दिरमा धर्म महोत्सव एवं ५७ औं बार्षिकोत्सव हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक समितिका सचिव हरि प्रसाद देवकोटाले फागुन १६ देखि २० गते सम्म पञ्चदिवसिय रुपमा कार्यक्रम संचालन हुने बताए । सो धार्मिक कार्यक्रममा देशका विभिन्न स्थान तथा भारतबाट श्री कृष्ण प्रणामी धर्मावलम्बीहरु आउने देवकोटाले बताए । सो धर्म उत्सव कार्यक्रममा सन्त गुरुजन, अध्यत्मिक प्रवक्ता, धर्म प्रचारक, गायक, कलाकारहरुको उपस्थीतिमा बिभिन्न धार्मीक, संस्कृतिक कार्यक्रमहरु संचालन गरिने आयोजक समितिले जनाएको छ । श्री कृष्ण प्रणामी मन्दिर नजरपुरले प्रत्यक बर्ष धार्मिक एंव आध्यात्मिक मोक्ष प्राप्त गर्ने कार्यक्रमहरु संचालन गर्ने गरेको छ ।
प्रणामी समुदायको बसोबास रहेको यस नजरपुरटोल वर्षौं देखि शाकाहारी बस्तीको रुपमा परिचित रहेको छ । २०२० साल देखि बसोवास भएको नजरपुर क्षेत्रलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा समेत विकास गर्न थालिएको छ । नजरपुर बस्ती बसेसँगै मन्दिर स्थापना गरिएको भए पनि २०५२ सालमा भने मन्दिरको पुनर्निर्माण गरेर आकर्षक र व्यवस्थित गरिएको हो । सो मन्दिरमा दर्शनका लागि भारतको गुजरात, सिलगुडी, सुरत, मध्यप्रदेश, बृन्दावन, मथुरा लगायतबाट गुरुहरू तथा भक्तजनहरु आउने गरेका छन ।
श्रीकृष्ण प्रणामी धर्मावलम्बी रहने भएकाले पूणर् शाकाहारीहरुको बसोबास रहेको नजरपुरमा एक सय ५० भन्दा बढी घरधुरी रहेका छन । सो बस्तीमा आधा दर्जन किराना पसल छन तर ति पसलमा सुर्ती र मदिराजन्य पदार्थ बिक्री हुँदैन ।
पूर्ण शाकाहारी, वली प्रथा निषेधजस्ता कारणले छुटै पहिचान बनाउदै आएको नजरपुरवासीले मासुका लागि बिक्री हुने पशुपंक्षीहरु हांस, कुखुरा, परेवा ,खसीबोका, बाख्रा समेत पाल्ने गरेको छैन । २०७८ फागुन १६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।








