चन्द्रपुर,२४बैशाख । रौतहट जिल्लाको चन्दपुरमा कलम छापका मेयर पदका उम्मेदवार बाबुराम दाहालले सार्वजनिक स्थलहरुमा सिसिटिभीको माध्यमद्धारा निगरानी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बैशाख ३० गते हुने निर्वाचनको शिलशिलामा आम सर्वसाधारणको अमूल्य मत माग्दै घरदैलोमा जुटिरहेका मेयर पदका उम्मेदवार दाहालले यस्तो प्रतिबद्धता जनाएका हुन् । यसरी सार्वजनिक स्थलहरुमा सिसिटिभीबाट निगरानी राख्दा अपराधिक क्रियाकलाप नियन्त्रण हुनुका साथै शान्ति सुरक्षाको अवस्था सवल हुने उनको प्रतिक्रिया छ । साथै नगरपालिका अन्र्तगतका सार्वजनिक स्थलहरुमा फ्री वाईफाईको व्यवस्था गर्ने, खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै प्रत्येक बर्ष खेलाडीलाई सम्मान र पुरस्कारको व्यवस्था गर्ने दाहालको प्रतिबद्धता छ । शिपमूलक, प्राविधिक र व्यवसायिक शिक्षालाई जोड दिंदै एक माध्यमिक विद्यालय एक प्राविधिक बिषयको अवधारणालाई साकार पार्ने, कृषि, स्वास्थ्य, वन, इन्जिनियरिङ र सूचना प्रविधि सेवाहरु सहितको एक वहुप्राविधिक शिक्षालय स्थापना गर्ने दाहालको योजना छ ।
घरदैलोका क्रममा आज शुक्रबार वडा नम्बर ३ र वडानम्बर ९ मा पनि नेकपा एकीकृत समाजवादीले घरदैलो कार्यक्रम सञ्चालन गरेको छ । आसन्न निर्वाचनमा कलम छापका मेयर पदका उम्मेदवार दाहाल, उपमेयर उम्मेदवार रामरति चौधरी र वडाका उम्मेदवारहरु सहित नेकपा एसका उल्लेख्य नेता कार्यकर्ता घरदैलोमा कार्यक्रममा सहभागी थिए । बैशाख ३० गते हुने निर्वाचनको प्रचारप्रसार र आफ्नो पार्टीलाई विजयी गराउन मत माग्दै नेकपा एसले चन्द्रपुरको १० वटै वडामा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ ।