बिजयपुर,३ भदौ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत भवन निर्माणको लागि गरिने सिफारिसमा लाखौंको चलखेल भएको रहस्य खुलेको छ । स्थानीय तहले गरेको सिफारिस बिपरित मनपरि तरिकाले भवन बितरण गर्न जिल्ला शिक्षा समन्वय ईकाई गौरले रकम असुली गरिरहेको रहस्य खुलेको हो ।
जिल्लाको पश्चिमिभेग फतुवा बिजयपुर नगरपालिकाले विभिन्न विद्यालय लाई भवन निर्माणको योजना उपलब्ध गराउन गरेको सिफारिस बिपरित समन्वय ईकाई प्रमुख रामबिनय प्रसाद सिंहले केहि शिक्षकसंग रकम असुल गरि मनपरि योजना बितरण गरेको आरोप लागेको छ । नगरपालिकाले गत साउन २९ गते ९ वटा बिधालय लाई ४ कोठे र ६ लाई २ कोठे भवनको योजनाको लागि १५ वटा विद्यालयको सिफारिस गरेको थियो । गत आर्थिक बर्षमा माध्यमिक बिधालय संचालन भएको टेंग्राहा माबिमा विद्यार्थी संख्याको आधारमा ४ कोठे,आधारभुत प्रावी मेवामा २ कोठे भवन र केही विद्यालयमा आईसिटी ल्याब गरि कुल १५ बिधालयमा भवन निर्माणको लागि सिफारिस गरिएको फतुवा बिजयपुरका प्रमुख प्रशासकिय अधिकृत शम्भु यादवले बताएका छन ।
तर शिक्षा समन्वय ईकाई प्रमुख सिंहले सिफारिस लाई पाखा लगाएर माबी टेंग्राहालाई छुटाएको र आधारभूत प्रावी मेवामा २ कोठेको ठाउँमा ४ कोठे भवनको योजना दिएको यादवले गुनासो गरेका छन । ईकाई प्रमुख सिंहले २ कोठे भवनको योजनामा एकलाख र ४ कोठे भवनको योजनामा दुईलाख रुपैया लिएर संबंधित विद्यालयको प्रधानाध्यापक को मिलोमतोमा योजना बितरण गरिरहेको
स्थानीय समाजसेवी तथा शिक्षा प्रेमी परमेश्वर यादवले दाबी गरेका छन ।उता शिक्षा समन्वय ईकाई प्रमुख रामबिनय सिंहले आरोपको खण्डन गरेका छन । स्थानीय निकायका प्रमुख उपप्रमुखहरुको कुरा नमानेको कारण आफुलाई बदनाम गर्न झुठो आरोप लगाएको सिंहले प्रतिक्रिया दिएका छन । तर राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रौतहटमा यसपटक बितरण भैरहेको २१ वटा ४ कोठे भवन र ३१ वटा २ कोठे भवनको योजना बितरणमा लाखौं लाखको चलखेल भएको जानकारहरुले दाबी गरेका छन ।
४ कोठे भवनको ४५ लाख र २ कोठेको २२ लाख ५० हजारको योजना रहेको जिल्ला शिक्षा समन्वय ईकाई कार्यालय रौतहटले जनाएको छ । लाखौंको योजनाको निर्माणमा कुनै निकायले निगरानी नगर्ने हुंदा ठुलो रकम फाईदा हुनेभएकाले योजना लिन लाखौंको चलखेल हुनेगरेको स्वंय शिक्षकहरु स्वीकार्छन ।
यस अघि ईकाई प्रमुख सिंहकै मिलोमतोमा जिल्लाको दर्जनौं विद्यालयमा बिना दरबन्दीको शिक्षकको नियुक्ति बितरण भएको थियो । २०७९ असोज ३ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।