गौर,२७ मंसिर ।
सादा पोशाकमा खटिएका सुरक्षाकर्मीका कारण रौतहटको विभिन्न स्थानबाट तस्करी कार्य निकै फस्टाउदै गएको छ । सूचना संकलनका लागि खटाईएका सादा पोशाशका घुमुवा प्रहरीले विभिन्न स्थानबाट लाइन सञ्चालन गर्न अनुमती दिएपछि तस्करी बढेको हो । उनीहरुले दुवै देशबाट मालसमान निकाशी पैठारी गर्न लाइन वितरण गरेका छन् । घुमुवा प्रहरीले खाद्यान्न, लत्ताकपडा, सौन्दर्य सामग्री लगायतका वस्तुहरुमा जिल्लाका दर्जनौ व्यक्तिलाई लाइन दिएको नाम उल्लेख नगर्ने शर्तमा एक श्रोतले जानकारी दियो । जिल्लाको सदरमुकाम गौर, लक्ष्मीपुर, बन्जरहा, नरकटिया र बंकुल नाकाबाट अहिले व्यापक तस्करी भईरहेको ति श्रोतले जनाएको छ । श्रोतका अनुसार घुमुवा प्रहरीले गौर र लक्ष्मीपुरबाटोको बीच बाटो भएर गौर नगरपालिका १ का राजेश पासवानलाई सौन्र्दयकरणको समान भारत पैठारीका लागि लाइन दिएको जनाएको छ । नेपालमा उत्पादित युनिलिभर नेपालको सौन्र्दयकरण क्रिमहरुको मुल्य सस्तो पर्ने भएकोले भारतमा यस्को माँग अत्यधिक रहेको छ । भारतको बैरगनिया निवासी श्याम तेलीलाई पठाउने उक्त युनिलिभरको सौन्दर्यकरण सामग्री बिहार राज्यमा पुग्दै आएको छ । नेपालमा रहेको मुल्य भारतमा पुग्दा भारतीय मुद्रा अनुसारनै बिक्री वितरण हुने गरेको छ । लाइन लिएका पासवानले अवैध रुपमा दैनिक पाच लाखसम्मको समान भारत पठाउँदै आएपनि सुरक्षाकर्मीले नियन्त्रण गर्न सकेको छैन । पासवानले गौरको मुख्य सडकमै गोदाम भाडामा लिएर समेत राखेका छन् । यसैगरी भारतबाट अवैध रुपमा रेडिमेड लत्ताकपडा नेपाल भित्राउन बन्जरहाको नाका भएर अनरजितलाई लाइन सञ्चालन गर्दे आएको श्रोतको दाबी रहेको छ । यस्तै लक्ष्मीपुर नाका भएर कपडा तथा चप्पलका लागि निरज जयसवाल, रेडिमेड कपडाका लागि रुपेश यादव र पण्डित भन्नेले लाइन सञ्चालन गर्दे आएको बुझिएको छ । घुमुवा प्रहरीले मासिक केही रकम बुझेर लाइन वितरण गर्दा सरकारको दैनिक लाखौं रुपैया क्षती समेत हुँदै आएको छ । लाइन वितरण हुँदा रकम दिन ढिलाई अथवा नँया कारोबारीहरुले लाइन बिनानै मालसमान ल्याउदा सुरक्षाकर्मीले समातेर मात्र देखावती काम गर्दे आएको गुनासो पीडित कारोबारीहरुको रहेको छ । समय अगावै रकम दिए कुनै समस्या हुदैन तर, एक दिनको ढिलो अथवा लाइन सञ्चालन गरेका व्यक्तिहरुको भनसुनको आधारमा अन्य कारोबारीहरुको मालसमान समातिन्छ नाम उल्लेख नगर्ने शर्तमा लक्ष्मीपुर वेलविछवाका एक स्थानीय कारोबारीले बताए । यता गौर भन्सार कार्यालयका प्रमुख वासु नेपालले पनि तस्करी कार्य बढेकोले राजस्व संकलनमा कमी आएको जिकिर गरेका छन् । खुल्ला सीमाका कारण पुर्ण रुपमा तस्करी नियन्त्रण हुन नसकेपनि सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीले केही हदसम्म नियन्त्रण गर्न सकिने हुन्छ ।
यसैबिच नाम अनुसारका व्यक्तिहरुले तस्करी गर्दे आएको बारेमा आफु अनभिज्ञ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी वीरबहादुर बुढा मगरले जानकारी दिनुभयो । राजस्व प्रभावित हुने कुनै प्रकारको तस्करी नभएको बताउनुहुदै उँहाले यदी कुनै कुरा छ भने छानबिन गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
यता यस विषयमा शसस्त्र प्रहरी बल ११ नम्बर हेडक्वाटरका एसपी ध्रुव कार्कीसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।