रौतहट, २ चैत । रौहतटमा एक मनी ट्रान्सफरमा लुटपाट भएको छ । रौतहटकोे परोहा नगरपालिका–९ खापचोकस्थित शिवम मनि ट्रान्सफरमा लुटपाट भएको हो ।
शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित तीन जनाको संख्यामा आएका लुटेराहरुले मनी ट्रान्सफर सञ्चालकलाई धम्क्याउँदै लुटपाट गरेका हुन् । सो क्रममा मनि ट्रान्सफरका सञ्चालक २६ वर्षिय नितेश साहलाई मनि ट्रान्सफर गोली प्रहार गरेका छन् । गोली साहको कान छेडेर बाहिर निस्केको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एलिजा गिरिले घटनाको पुष्टि गर्दै घाइतेलाई उपचारका लागि वीरगन्ज पठाइएको बताइन् । लुटपाटमा संलग्नलाई तीन जना पक्राउ परेको प्रवक्ता तथा डीएसपी गिरिले बताइन् ।
पक्राउ परेका भारत मोतिहारीका मुनिशकुमार यादव र राजनकुमार पासवान, चन्द्रभान सिंह रहेको छ । रकम लुटपाट गरेर भागेका उनीहरूलाई प्रहरीले एक थान पेस्तोल सहित घटनाको केही बेरमै नियन्त्रणमा लिएको हो । प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल पनि बरामद गरेको छ ।








