रौतहटको चन्द्रपुरका युवा व्यवसायी हुन् दिवाकर सापकोटा । सापकोटाले विगत दुई दशकभन्दा बढी समयदेखि रौतहटको चन्द्रनिगाहपुरलाई आधार बनाएर विभिन्न व्यवसाय गर्दै आएका छन् । चन्द्रपुर नगर उद्योग वाणिज्य सङ्घको सचिव समेत रहेका सापकोटा यतिबेला रौतहट जिल्लाकै चिर परिचित फर्निचर व्यवसायी हुन् । रौतहटमा आधुनिक फर्निचरका सामानहरूको सुरुवातकर्ताका रूपमा समेत परिचित रहेका सापकोटा यतिबेला फर्निचर उद्योगमा जमेका छन् । उनको उद्योगमा दुई दर्जन बढी युवाहरूले रोजगारी पाएका छन् । उनले सञ्चालन गरेको उद्योगबाट दुई दर्जन बढी युवाहरूको घरमा चुलो बल्ने गरेको छ । सापकोटाका संघर्षका दिन र उनको उद्योग व्यवसायको विषयमा केन्द्रित रहेर तराई एक्सप्रेस दैनिकले गरेको कुराकानीको सम्पादित हुन्छ यहाँ प्रस्तुत गरिएको छ ।
तपाईंले सानै उमेरदेखि व्यापार व्यवसाय सुरु गर्नुभयो भन्ने सुन्नमा आएको छ । व्यवसायिक यात्राको शुरुवात कसरि गर्नुभयो ?
हो, मैले निकै सानो उमेरदेखि नै व्यापारमा हात हालेको हुँ । सुरुमा मैले हाड बजार बाट कपडाको सानो पसल चलाएँ । त्यहीँबाट व्यापारको अनुभव लिँदै चन्द्रनिगाहपुर चोक मा सापकोटा फेन्सी र मामा भान्जा फेन्सी चलाउदै विस्तारै फर्निचर व्यवसायमा लागेँ। समय र अनुभवसँगै आज म एउटा फर्निचर उद्योग र शोरुमको सञ्चालक भएको छु। यात्रा अझै सकियको छैन धेरै कुरा सिक्दै छु र आफुले सिकेको कुरा लाई यश समाज मा स्थापित गर्दै छु ।
तपाईं हाल रौतहटका चर्चित फर्निचर व्यवसायी मानिनुहुन्छ । फर्निचर उद्योगमा लाग्ने प्रेरणा कहाँबाट आयो ?
घरको आवश्यकता, बजारको माग, र राम्ररी व्यवस्थापन गर्न सकिने देखेपछि मैले यो क्षेत्रमा लाग्ने निर्णय गरेँ । सुरुमा केही डर त थियो, तर मेहनत र दृढ इच्छाशक्तिले अहिलेको अवस्थामा पुर्यायो । स्थानीयस्तर मा उत्पादन हुदा त्यसको प्रत्यक्ष फाइदा स्थानीयस्तर मै हुने हुदा उध्योग र उत्पादन नै लक्ष्य बन्न पुग्यो ।
तपाईंले शोरुम पनि सञ्चालन गर्नुभएको छ भनेर थाहा पाइयो, के त्यो उद्योगकै हिस्सा हो ?
हो, उद्योगमै निर्माण भएका फर्निचरहरू बिक्री गर्न मैले शोरुम स्थापना गरेको हुँ। यसले ग्राहकलाई प्रत्यक्ष हेरी, मन परेको सामान छान्न सक्ने सुविधा दिएको छ साथै ग्राहक को रोजाइ अनुसारको सामान हरु उत्पादन गर्ने गरियको छ।मुलत भन्नुपर्दा ग्राहक को सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता हो ।
हाल तपाईंको उद्योगमा कति जनाले रोजगारी पाएका छन ?
हाल हाम्रो उद्योगमा प्रत्यक्ष रुपमा २३ जना स्थानीय युवाहरूले रोजगारी पाएका छन्।साथै हामिले सीप सिक्न चाहने युबा हरुलाइ सीप सिकाइ रोजगारी दिने समेत गरेका छौ । हाम्रो सानो प्रयासले कसैको घरमा चुलो बाल्न मद्दत पुगेको महसुस हुँदा धेरै आनन्द आउछ ।
तपाईंले यो व्यवसाय गर्दा के–कस्ता चुनौतीहरू भोग्नुभयो ?
सुरुवातमै पुँजीको अभाव, दक्ष जनशक्तिको कमी, बजारको प्रतिस्पर्धा र नयाँ प्रविधिको प्रयोगमा झन्झट थियो । अझै पनि कच्चा पदार्थको मूल्य वृद्धि र बजारको अस्थिरता जस्ता चुनौतीहरू छन् । उध्योग स्थापना प्रती आज पनि राज्य उदासीन छ।तर ती चुनौतीलाई अवसरमा बदल्ने प्रयास गरिरहेको छु ।
तपाईंको विचारमा फर्निचर व्यवसायको सम्भावना कस्तो देख्नुहुन्छ ?
यो व्यवसायमा निकै सम्भावना छ । मानिसको जीवनशैली परिवर्तन भइरहेकाले गुणस्तरीय, डिजाइनयुक्त र टिकाउ फर्निचरको माग बढ्दै गएको छ । सरकारले लघु तथा घरेलु उद्योगलाई सहयोग गरेमा यो क्षेत्र अझै विस्तार गर्न सकिन्छ ।
तपाईं जस्तै नयाँ पुस्ताका युवालाई के सन्देश दिन चाहनुहुन्छ ?
अबको युग अवसरको हो। रोजगारी खोज्ने भन्दा पनि रोजगार दिने सोच राखौं । इमान्दारिता, परिश्रम, लगन र योजना भए जुनसुकै व्यवसायमा पनि सफलता सम्भव छ । नेपालमै धेरै सम्भावना छन्, त्यसलाई चिनेको खण्डमा देशमै बसेर पनि धेरै गर्न सकिन्छ ।
तपाइको बिचार मा अहिले को अबस्थामा ब्यबसाय मा सफल बन्न को लागि के कस्ता तरीकाहरु अपनाउनु पर्ला ।
अहिले को अबस्था निकै जटिल छ हामी व्यावसायि हरुको लागी, “उधारो नकिन्नुस उधारो नदिनुस“यसो गर्यो भने ब्यबसाय अटोमेटिक ट्रयाक मा आउँछ ।
अब अन्तमा नेपाल सरकार प्रती उध्योग स्थापना कस्तो भुमिका को रहोस भन्ने चाहनु हुन्छ ?
राज्य ले प्रतेक बर्ष उघ्योग स्थापना को लागि नया नया योजना हरु ल्याउने गर्छ ,तर त्यसको पछिल्लो अबस्थाको निगरानी भयको छैन कागज मिलाउने र कागज मै सिमित बनाउने कैयौ उदाहरण हरु छन।सबै पार्टी का कार्यकर्ता हरुले दुहुनो गाई बनाइराखेको छन । सरकार को उद्योग स्थापना को उदेश्य लाई “अनुदान हैन अबसर मा बदलौ“








