चन्द्रपुर,३० जेठ ।
चन्द्रपुर नगरपालिका–६ मा स्थापना भएको चन्द्रपुर एकेडेमी अहिले अभिभावक र विद्यार्थीहरूका लागि शिक्षाको नयाँ गन्तव्य बन्दै गएको छ । केही सक्रिय, दूरदर्शी र शिक्षाप्रति समर्पित स्थानीय युवाहरूको पहलमा सुरु भएको यो शैक्षिक संस्थाले तीन वर्षमै उल्लेखनीय फड्को मारेको छ । छोटो समयमै अभिभावकको भरोसा जित्न सफल बनेको एकेडेमीले स्थानीय शिक्षा क्षेत्रमा नयाँ आशा र सम्भावनाको संकेत दिएको छ ।
स्थापनाको सुरुवातमा भौतिक पूर्वाधार कमजोर भए पनि प्राज्ञिक सोच, योजना र प्रतिबद्ध नेतृत्वका कारण एकेडेमीले चाँडै नै फरक पहिचान बनाउन थालेको हो । “हामीले चन्द्रपुरमा केही नयाँ ढंगले शिक्षण कार्य गर्नु छ भनेर सपना देखेका थियौं,” एकेडेमीका अध्यक्ष बसन्त आचार्य भन्छन्, “तर त्यो सपना केवल भवन वा कक्षाकोठासम्म सीमित थिएन, त्यो सपना थियो शिक्षाको गुणस्तरमा नयाँ स्तर कायम गर्ने ।”
उनका अनुसार एकेडेमीले अहिलेसम्म धेरै प्रगति गरे पनि सम्पूर्ण रुपमा लक्ष्यमा पुग्न अझ केही समय लाग्नेछ । “यो शैक्षिक सत्रलाई हामीले समिक्षा र सुधारको वर्षको रुपमा लिएका छौं,” उनले बताए, “नयाँ विद्यार्थी भर्ना अभियान नचलाईकनै बिगत दुई वर्षको अनुभव, सिकाइ र अभिभावकहरूबाट प्राप्त सुझावलाई आत्मसात गर्दै कमजोरी सच्याउने र नयाँ योजना तयार पार्ने काम गरिरहेका छौं ।”
यद्यपि प्रचार नगरे पनि गौर, गरुडा लगायत छिमेकी ठाउँबाट समेत केही नयाँ विद्यार्थी चन्द्रपुर एकेडेमीमा भर्ना भएका छन् । यसले एकेडेमीप्रति बढ्दो विश्वासको संकेत गरेको अध्यक्ष आचार्यको बुझाइ छ ।
एकेडेमीको मूल उद्देश्य स्थानीय स्तरमै गुणस्तरीय शिक्षाको वातावरण निर्माण गर्नु हो, जसले गर्दा विद्यार्थीहरूलाई अध्ययनका लागि टाढा शहर जानु नपरोस् । “हामी चाहन्छौं कि अभिभावकहरूले आफ्ना सन्तानलाई काठमाडौँ, हेटौंडा वा अन्य शहर पठाउन नपरोस्,” एकेडेमीका अर्का सञ्चालक तथा युवा सहकारी अभियन्ता राजेन्द्र तिवारी भन्छन्, “यहाँ पढेका विद्यार्थीले जब उच्च शिक्षाको लागि बाहिर जान्छन्, तब उनीहरू सबै क्षेत्रमा आत्मनिर्भर, सक्षम र प्रतिस्पर्धी होऊन् भन्ने चाहना हामीसँग छ ।”
शिक्षालाई केवल पाठ्यपुस्तकको घेराभन्दा बाहिर लिएर जानुपर्ने विश्वास एकेडेमीका सबै सञ्चालकको साझा धारणा हो । त्यसैले यहाँ अतिरिक्त क्रियाकलाप, जीवनोपयोगी सीप र डिजिटल साक्षरतामा समेत विशेष जोड दिइएको छ । सञ्चालक जितेन्द्र रौनियार, जो विगत दुई दशकदेखि चन्द्रपुरमा कम्प्युटर शिक्षामार्फत हजारौं दक्ष जनशक्ति उत्पादन गरिसकेका छन्, भन्छन्, “हामी प्रविधिको युगमा बाँचिरहेका छौं । हामीले यस युगको उपयोगमा कुनै कन्जुस्याइँ गरेका छैनौं। विद्यार्थीहरूले कम्प्युटर, इन्टरनेट, मल्टिमिडिया सामग्रीहरूबाट सिकाइलाई सहज र प्रभावकारी बनाइरहेका छन् ।”
एकेडेमीमा विद्यार्थीकै मनोविज्ञान बुझेर शिक्षा दिइन्छ । “हामी पढाउँदैनौं, उनीहरूलाई सिक्न उत्प्रेरणा दिन्छौं,” भन्छन् सञ्चालक तथा जनज्योति बहुमुखी क्याम्पसमा अध्यापन गरिरहनुभएका कुल शेखर पहाडी, “यहाँ शिक्षा करको विषय होइन, रहर र आत्मबोधको अभ्यास हो ।”
तीन वर्षको अवधिमा संस्थाले प्रशासनिक ढाँचामा समेत सुधार ल्याएको छ । प्रिन्सिपलको जिम्मेवारी अब शिक्षण पेशामा लामो अनुभव भएका मोहन रसाइलीले सम्हालिरहेका छन्। व्यवस्थापन, शैक्षिक नीति र अध्यापन अनुभव समेटिएका रसाइलीले एकेडेमीको शैक्षिक मार्गदर्शनमा नवीनता थप्ने अपेक्षा गरिएको छ ।
एकेडेमीले ’शिक्षा, संस्कार, सम्बन्ध र सीप’ लाई आफ्नो चार स्तम्भका रुपमा परिभाषित गर्दै आएको छ । अभिभावकहरूसँगको निरन्तर संवाद, समय समयमा हुने सुझाव सँग्रह र तिनलाई कार्यान्वयनमा लैजाने अभ्यास नै एकेडेमीको सफलताको रहस्य हो ।
अध्यक्ष आचार्यको भनाइमा, “हामी कुनै पनि बाबु–आमाको गुनासो सुन्न चाहँदैनौं । त्यसैले विद्यार्थीको पढाइदेखि व्यवहार, वातावरणदेखि प्रशासनसम्म सबै पक्षलाई सम्हाल्दै अगाडि बढिरहेका छौं । यही सोचका कारण चन्द्रपुर एकेडेमी अहिले धेरैको पहिलो रोजाइ बन्न पुगेको छ ।”
चन्द्रपुर एकेडेमीले केवल विद्यालय चलाउने उद्देश्य राखेको छैन, उसले एउटा सोच, संस्कृति र सशक्त शैक्षिक वातावरण निर्माण गर्ने दीर्घकालीन यात्रा तय गरेको छ ।
तीन वर्षमै देखिएको सकारात्मक परिणामले आगामी दिनमा यस एकेडेमीलाई अझ फराकिलो सफलताको शिखरमा पु¥याउनेमा कुनै शंका छैन ।