रौतहट,२३ असार । चन्द्रपुर नगर उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिका लागि आगामी साउन १५ गते हुने निर्वाचनलाई लिएर नगर क्षेत्रको राजनीतिक तथा व्यवसायिक वृत्तमा चासो बढेको छ । विभिन्न समूह र राजनीतिक दलहरू सक्रिय हुँदै चुनावी समीकरण मिलाउन व्यस्त देखिन्छन् । यसपटकको निर्वाचनमा प्रमुख प्रतिस्पर्धा सत्ता गठबन्धनका तर्फबाट नेकपा एमाले र नेपाली कांग्रेसको साझा उम्मेदवार सुनिल कुमार साह र स्वतन्त्र पृष्ठभूमिबाट पुनः अध्यक्ष बन्न तम्सिएका वर्तमान अध्यक्ष उदयनारायण सापकोटा बीचमा हुने निश्चितजस्तै देखिएको छ । सत्ता गठबन्धनले अध्यक्ष पदका लागि सुनिल कुमार साहलाई उम्मेदवार बनाउने तयारी अन्तिम चरणमा पु¥याएको छ । सुनिल साहले व्यापारी, व्यवसायी तथा संघका पुराना सदस्यहरूसँगको सल्लाह–सुझावका आधारमा काम गर्ने प्रतिबद्धता जनाउँदै आफ्नो उम्मेदवारीलाई सर्वसम्मत बनाउने प्रयासमा जुटेका छन् ।
उता, वर्तमान अध्यक्ष तथा राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता उदयनारायण सापकोटाले भने दोस्रो कार्यकालका लागि पुनः उम्मेदवारी घोषणा गरिसकेका छन्। उनले आफ्नो नेतृत्वमा संघले विगतमा थुप्रै महत्वपूर्ण कामहरू गरेको दाबी गर्दै ती कार्यहरूको निरन्तरताका लागि आफू पुनः मैदानमा उत्रिएको बताए ।
सापकोटाले सत्ता गठबन्धनबाहेकका राजनीतिक धार तथा स्वतन्त्र व्यवसायीहरूलाई संगठित गर्दै वैकल्पिक गठबन्धन निर्माणको सम्भावना पनि खुला राखेका छन्। “संघले विगतमा जुन स्तरको निष्पक्षता र परिणाममुखी काम गरेको छ, त्यसको निरन्तरता दिन म तयार छु,“ सापकोटाले बताए ।

चुनावी चहलपहलसँगै बजार क्षेत्रमा व्यापारी र व्यवसायीहरूबीच चर्चा–परिचर्चा सुरु भइसकेको छ। चन्द्रनिगाहपुरका व्यापारी राजेन्द्र तिवारी भन्छन्, “हामीले पार्टी हैन, व्यापारिक हित र व्यावसायिक दृष्टिकोणबाट काम गर्ने व्यक्तिलाई समर्थन गर्नेछौं ।”
यस निर्वाचनले चन्द्रपुर नगर क्षेत्रका व्यवसायीहरूको समन्वय, नीतिनिर्माण र व्यवसायिक हित संरक्षणको दृष्टिले महत्वपूर्ण प्रभाव पार्ने विश्वास गरिन्छ । त्यसैले पनि व्यवसायिक समुदायका लागि यो निर्वाचन निर्णायक बन्ने देखिन्छ ।