गौर,३१ साउन । पछिल्लो समय रौतहटको पत्रकारिता क्षेत्र विभिन्न किसिमका विकृतिमा फस्दै गएको वरिष्ठ पत्रकारहरूले बताएका छन्। सामाजिक सञ्जालमै पत्रकारहरूबीच आपसी आक्षेप, गालीगलौज र व्यक्तिगत चरित्रहत्या गर्नेजस्ता घटना बढ्दै जाँदा, आम सर्वसाधारणले समेत पत्रकारिताप्रति नकारात्मक दृष्टिकोण राख्न थालेका छन् ।
जिल्ला सदरमुकाम गौरमा पत्रकार अभिमन्यु पटेल र चन्द्रपुर नगरपालिकाका शाखा अधिकृत मिश्रीलाल शाहबीचको आर्थिक लेनदेन सम्बन्धी अडियो र मेसेन्जर स्क्रिनसट सार्वजनिक भएपछि विवाद खुलेर बाहिर आएको हो । आरोप अनुसार, पटेलले साहसँग तीन लाख रुपैयाँ मागेको अडियो सार्वजनिक भएलगत्तै नेपाल पत्रकार महासङ्घ रौतहटका कोषाध्यक्ष संजय सहनीले पटेलविरुद्ध समाचार लेख्ने र सामाजिक सञ्जालमा आलोचना गर्ने अभियान चलाएका थिए ।
यो एउटा प्रतिनिधि घटना मात्र हो । गौरमा यस्ता विवादित गतिविधि पछिल्ला वर्षहरूमा बाक्लिँदै गएका छन्। स्थानीयहरूका अनुसार, फेसबुकमार्फत नेताहरूको अन्तर्वार्ता हाल्ने, सामाजिक सञ्जालमै मेयर वा वडा अध्यक्षको ‘प्रचार’ गर्ने, र व्यक्तिगत नातासम्बन्धका आधारमा समाचार प्रकाशन गर्ने प्रवृत्ति मौलाउँदै गएको छ ।
चन्द्रनिगाहपुरमा पनि यस्तै घटना ताजा छ । गैडाटारमा स्थानीय युवाले सडक मर्मतका लागि ग्रेभल हालिएको विषयमा पत्रकार सन्तोष काफ्लेले आफ्नो अनलाइनमा समाचार लेखेपछि शुक्रबार दिनभरि सामाजिक सञ्जालमा पत्रकारविरुद्ध तीव्र आलोचना भएको थियो ।
मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश तिवारीका अनुसार, मधेश प्रदेशमा “फेसबुक पत्रकार” र पत्रकारिताको आवरणमा सर्वसाधारणलाई त्रासित बनाउने समूह सक्रिय छन्। उनले भने, “हामी सूक्ष्म रूपमा यस्ता व्यक्तिहरूको पहिचान गर्दैछौँ । अबका दिनमा मधेश प्रदेशको पत्रकारिता व्यवस्थित गर्न हामी तम तयार छौँ ।” नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य तथा वरिष्ठ पत्रकार शिवपुरीले पनि चिन्ता व्यक्त गर्दै भने, “केही व्यक्तिहरूको गतिविधिका कारण सिङ्गो पत्रकारिता बदनाम हुँदै गएको छ ।”
नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका अध्यक्ष संजयकुमार कार्कीले भने पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको पत्रकारहरूबीचको द्वन्दलाई आफूले ध्यानपूर्वक नियालिरहेको बताए। उनका अनुसार, महासङ्घसँग आबद्ध पत्रकार संख्या ४० भन्दा कम भए पनि सार्वजनिक कार्यक्रममा १०० भन्दा बढी पत्रकारको उपस्थिति देखिनु पनि वर्तमान पत्रकारिताको ‘अव्यवस्था’ को सूचक हो । विश्लेषकहरू भन्छन्, रौतहटमा लेखन र तथ्य–आधारित पत्रकारिताभन्दा सामाजिक सञ्जालमा रिस साट्ने, प्रचार गर्ने र व्यक्तिगत लाभ खोज्ने प्रवृत्ति तीव्र रूपमा बढेको छ । यसले न केवल पेशागत आचारसंहिता कमजोर बनाएको छ, बरु आम जनताको विश्वास पनि घटाएको छ । यस्तो अवस्थामा पत्रकार संगठन, मिडिया नियामक निकाय र स्वयम् पत्रकारहरूले पेशागत मर्यादा, तथ्य–पुष्ट समाचार र आचारसंहिताप्रति स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने आवश्यकता देखिएको छ ।