काठमाडौं, असोज १८ – देशका विभिन्न स्थानमा वर्षा जारी छ । मधेसदेखि कर्णाली प्रदेशसम्म पानी परिरहेको र यो क्रम असोज २० गतेसम्म निरन्तर रहने मौसमविद्हरूले बताएका छन् ।

बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (मनसुनी वायू) र भारतको बिहार–उत्तर प्रदेश हुँदै नेपालमा प्रवेश गरेको बादलको बाहिरी घेराले हाल वर्षा भइरहेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालतर्फ अर्को मौसमी प्रणाली समेत भित्रिँदै छ, जसका कारण केही क्षेत्रमा अझै बढी वर्षा हुने संकेत देखिएको छ ।

आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानहरूमा, लुम्बिनी प्रदेशका तराईका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ । मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा ‘अत्यधिक भारी वर्षा’ हुने सम्भावनासमेत महाशाखाले जनाएको छ ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी–तराई भूभागका धेरै स्थानमा तथा लुम्बिनीका केही ठाउँमा भारीदेखि धेरै भारी वर्षा हुने अनुमान गरिएको छ ।

हाल लुम्बिनीको पूर्वी भागदेखि कोशीसम्म वर्षा गराउने बादल सक्रिय छन् भने दक्षिणी भूभागमा भारी वर्षाको असर बढी देखिएको छ । विशेषगरी हेटौंडादेखि ललितपुर र वरपरका क्षेत्रमा मध्यम वर्षा निरन्तर रहने पूर्वानुमान छ ।