काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकीकरणको विपक्षमा उभिंदै अहिलेको समय एकीकरणको लागि उपयुक्त नभएको बताएका छन्।
भारतमा उपचाररत खनालले सचिवालय बैठकमा पठाएको लिखित धारणामा लेखेका छन्,
“अहिले कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन। गलत बाटो हिँड्दै भड्खालोमा नपरी पुनर्गठन र रूपान्तरणतिर लाग्नुपर्छ।”
खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालसहित वामपन्थी दलहरू दक्षिणपन्थीको पछि लागेको आरोप लगाउँदै सबै पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य भएको उल्लेख गरेका छन्।
उनले भनेका छन्,
“वाम दलहरूले विदेशीहरूसँग अपमानपूर्ण सम्झौता गर्दै यथास्थितिवादको मार्ग रोज्दा देश संकटमा परेको हो।”
खनालले पार्टी एकीकरणभन्दा राष्ट्रिय मोर्चा बनाएर आगामी निर्वाचनको तयारी गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार देश, जनता र वाम आन्दोलनलाई नयाँ धरातलबाट उठाउन यही नै उचित बाटो हो।
त्यस्तै उनले अहिले देखिएको जेनजी युवाहरूको आन्दोलन बाह्य शक्तिको षड्यन्त्र मात्र नभई वाम नेतृत्वको असफलताको परिणाम भएको बताए।








