जनकपुरधाम ।
मधेश प्रदेशका प्रदेश सभा सभामुख रामचन्द्र मण्डलले असोज २८ गतेका लागि प्रदेश सभाको बैठक बोलाएका छन्।

प्रदेश सभा सचिवालयका अनुसार बैठक असोज २८ गते दिउँसो १ बजे बस्नेछ। सो बैठकमा मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने कार्यसूची रहेको बताइएको छ।

मुख्यमन्त्री सिंह हाल अल्पमतमा परेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टीले मिलेर नयाँ सरकार गठनका लागि ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहितको समर्थनपत्र प्रदेश प्रमुखलाई बुझाइसकेका छन्। प्रदेश सरकार गठनका लागि ५४ जना सांसदको समर्थन आवश्यक हुन्छ।

सिंह जनमत पार्टीबाट मुख्यमन्त्री बनेका थिए। तर, ‘जेनजी आन्दोलन’पछि जनमत पार्टीले उनलाई राजीनामा दिन निर्देशन दिएको थियो। निर्देशनपछि उनले फेसबुकमार्फत राजीनामा घोषणा गरे पनि पछि सो राजीनामा मान्य नहुने भन्दै मुख्यमन्त्री पदमा निरन्तरता दिएको बताएका थिए।

त्यसपछि जनमत पार्टीले सिंहलाई फिर्ता बोलाउने निर्णय गर्दै प्रदेश प्रमुखको कार्यालयमा आधिकारिक पत्रसमेत दर्ता गराएको थियो। अहिले भने कांग्रेस र एमालेसँग मिलेर जनमत पार्टीका नेता रहेका सिंहविरुद्ध नै नयाँ सरकार बनाउने तयारी भइरहेको छ।