रौतहट — रौतहटको मध्यभागमा पर्ने गरुडा नगरपालिका–८ बिर्ता बजारस्थित शुभ लक्ष्मी महिमा वस्त्रालयमा गएराति भीषण आगलागी हुँदा ठूलो आर्थिक क्षति भएको छ।

इलाका प्रहरी कार्यालय गरुडाका अनुसार राति करिब ९ बजेर ५० मिनेट जाँदा केदारनाथ साहको पक्की घरमा रहेको बिगन साहको उक्त कपडा पसलमा आगो लागेको थियो।

आगलागीको सूचना पाएपछि प्रहरी चौकी बिर्ताका हवल्दार राजु साहको कमान्डमा पुगेको टोलीले स्थानीयको सहयोगमा करिब साढे १० बजे आगो नियन्त्रणमा लिन सफल भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी शंकर प्रसाद आचार्यले जानकारी दिएका छन्।

प्रहरीका अनुसार पसलभित्र रहेका विभिन्न प्रकारका कपडा र काठका र्याक जलेर आंशिक क्षति पुगेको छ भने मानवीय क्षति भने भएको छैन।

स्थानीयका भनाइअनुसार विद्युत सर्टसर्किटका कारण आगलागी भएको अनुमान गरिएको छ। प्रारम्भिक रूपमा करिब ३० देखि ४० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ भने विस्तृत विवरण संकलन कार्य जारी रहेको प्रहरीले जनाएको छ।