रौतहट । नेकपा (एमाले) का केन्द्रीय सदस्य कुन्दन कुशवाहाले बेमौसमी वर्षाका कारण धानबालीमा ठूलो क्षति भएको भन्दै सरकारसँग किसानलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।

कुशवाहाले आफ्नो फेसबुक वालमार्फत स्टाटस लेख्दै बेमौसमी वर्षाले देशभरका किसानको धानबाली नष्ट भएको बताउँदै सरकारलाई तत्काल राहत र क्षतिपूर्ति दिन आग्रह गरेका हुन्। उनले लेखेका छन्, “#वर्षाले_धान_बाली_नष्ट_भएकाले_उचित_छतिपूर्ति_प्रदान_गरोस।”

उनका अनुसार निरन्तर वर्षा र खेतमा जलमग्नताका कारण धान पाक्ने बेलामै बाली सडेको छ, जसका कारण अधिकांश किसानले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको छ। “कृषकहरूको मुख्य आयस्रोत नै कृषि भएकाले अहिले परिवार पाल्नसमेत कठिन अवस्था आएको छ,” कुशवाहाले लेखेका छन्।

सरकारले तत्काल क्षतिग्रस्त किसानहरूको अवस्था मूल्यांकन गरी राहत र क्षतिपूर्ति प्रदान गर्नुपर्नेमा उनले जोड दिएका छन्। साथै, उनले किसानको पीडामा साथ दिँदै सबै राजनीतिक दल र सरोकारवाला निकायहरूलाई पनि कृषकको पक्षमा एकजुट हुन आह्वान गरेका छन्।