रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा मदिरा तथा लागुऔषधजन्य पदार्थको दुरुपयोग बढ्दै गएको भन्दै वडा कार्यालयले कडा नियन्त्रण र सचेतना अपनाउन सर्वसाधारणमा अपिल गरेको छ।
वडा कार्यालयद्वारा आयोजित आम–समुदाय तथा भद्रभलादमीको सम्पूर्ण भेलापछि प्रकाशित सूचनामा पछिल्लो समय यसै वडामा कम उमेरका तीन जना व्यक्ति मदिरा तथा लागुऔषध सेवन गरेको अवस्थामा भेटिएको र केही पक्राउसमेत परेको उल्लेख गरिएको छ। उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै वडा कार्यालयले मदिरा तथा लागुऔषधजन्य पदार्थको सेवन, उत्पादन तथा बिक्री–वितरणमा रोक लगाउन आग्रह गरेको हो।
सूचनाअनुसार २० वर्षमुनिका बालबालिका तथा किशोरकिशोरीलाई मदिरा तथा लागुऔषधजन्य पदार्थ बिक्री–वितरण नगर्न, राति १० बजेदेखि बिहान ६ बजेसम्म मदिरा बिक्री नगर्न अनुरोध गरिएको छ। साथै अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई लागुऔषध दुर्व्यसन तथा अवैध घरेलु मदिरा सेवनबाट निरुत्साहित गर्न र कडाइका साथ निगरानी गर्न अपिल गरिएको छ।
लागुऔषध तथा अवैध मदिरा सेवनकै कारण कलेजो, फोक्सो, मिर्गौला, मानसिक रोगजस्ता गम्भीर स्वास्थ्य समस्या देखिने भएकाले यस्ता रोगीहरूलाई कुनै पनि अवस्थामा मदिरा सेवन गर्न नदिन आग्रह गरिएको छ। साथै सार्वजनिक स्थानमा जुवा–तास जस्ता गतिविधि नगर्नसमेत सूचनामार्फत चेतावनी दिइएको छ।
वडा कार्यालयले मदिरा तथा लागुऔषध उत्पादन र बिक्री–वितरण गर्ने व्यवसायीहरूलाई नेपाल सरकारको नियम, कानुन र अनुशासनको परिधिभित्र रही मात्र व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको छ। उल्लिखित नियमहरूको पालना गरी समाजमा असल र जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न वडा कार्यालयले सबैमा हार्दिक अपिल गरेको वडा अध्यक्ष सहदेव केसीले तराई एक्सप्रेसलाई जानकारी दिएका छन्।