पोखरा,५ माघ । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
निर्वाचन आयोगको अनुरोधमा प्रहरीले प्रसाईंमाथि अनुसन्धान अघि बढाएको हो । आयोगले यस सम्बन्धमा प्रहरीको साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौंलाई औपचारिक पत्राचार गरेको थियो ।
कांग्रेसको विशेष महाधिवेशनमा ५२ करोड रुपैयाँ बुझाएर नतिजा आफ्नो पक्षमा पारेको आरोप लगाउँदै प्रसाईंले सार्वजनिक गरेको भिडियोले राजनीतिक वृत्तमा तरंग पैदा गरेको थियो । सोही भिडियो सामग्रीलाई आधार मानी आयोगले अनुसन्धान आवश्यक ठहर गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।
प्रसाईंविरुद्ध निर्वाचनसम्बन्धी कानुन उल्लंघन, भ्रामक सूचना प्रवाह तथा सामाजिक सञ्जालमार्फत गलत प्रचार गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।