रौतहट,११ माघ ।रौतहट क्षेत्र नम्बर ४ यतिबेला पूर्ण रूपमा चुनावी माहोलमा होमिएको छ। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा यहाँको राजनीतिक सरगर्मी दिनप्रतिदिन बढ्दो छ। चोक–चोकमा चुनावी बहस, घर–घरमा उम्मेदवारका चर्चा र सामाजिक सञ्जालमा व्यंग्य, टिप्पणी र विश्लेषणले रौतहट–४ लाई यतिबेला राजनीतिक रूपमा तातिएको क्षेत्र बनाएको छ।
तर यसपटक रौतहट–४ को चुनाव केवल दल, एजेन्डा र संगठनको प्रतिस्पर्धामा मात्र सीमित छैन। उम्मेदवारहरूको नाम नै चुनावी चर्चाको केन्द्र बनेका छन्। संघीय सांसद पदका लागि उम्मेदवारी दिएका अधिकांश उम्मेदवारहरूको नाम भगवान, देवी, ऋषि र राजासँग जोडिन पुगेपछि यो क्षेत्र सामाजिक सञ्जालमा अलग्गै चासो र रमाइलोको विषय बनेको हो।
रौतहट–४ बाट उम्मेदवारी दिएका उम्मेदवारहरूको नाम हेर्दा—
नेपाली कांग्रेसका देवीप्रसाद तिमल्सिना,
नेकपा एमालेका रामजी शाह,
नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराई,
आम जनता पार्टीका ऋषि धमला,
जनता समाजवादी पार्टीका राजकुमार दास तत्मा,
राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल,
तथा कुलमान घिसिङ नेतृत्वको दलबाट उम्मेदवार बनेका तुलसीराज गिरी—
यी सबै नाम आफैंमा धार्मिक, आध्यात्मिक वा राजसी अर्थ बोकेका छन्।
कोही देवी, कोही राम, कोही ऋषि, कोही राजकुमार त अब भगवान गणेश समेत मैदानमा उत्रिएपछि सामाजिक सञ्जालमा ‘रौतहट–४ मा भगवानै–भगवान’ भन्ने चर्चा झनै चर्किएको छ। फेसबुक, टिकटक र एक्स (ट्विटर) मा “यी भगवानमध्ये कुन भगवानले जित्ला ?” भन्ने व्यंग्यात्मक तर जिज्ञासापूर्ण स्टाटसहरू व्यापक रूपमा देखिन थालेका छन्।
नेपाली कांग्रेसका उम्मेदवार देवीप्रसाद तिमल्सिना तेस्रोपटक रौतहट–४ को चुनावी मैदानमा उत्रिएका अनुभवी नेता हुन्। यसअघि उनी एकपटक पराजित भए पनि दुईपटक निर्वाचित भइसकेका छन्। संगठन, अनुभव र पुरानो राजनीतिक पकड उनका मुख्य बल मानिन्छन्।
नेकपा एमालेका उम्मेदवार रामजी शाह भने रौतहट–४ का लागि नयाँ अनुहार हुन्। ‘राम’ नाम बोकेका शाहले विकास, सुशासन र परिवर्तनको नारासहित मतदाता समक्ष आफूलाई स्थापित गर्ने प्रयास गरिरहेका छन्।
नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराई पनि पुरानै खेलाडी हुन्। उनले यसअघि एकपटक चुनाव हारिसकेका छन् भने अर्को पटक जित हासिल गरेका थिए। अहिले तेस्रोपटक चुनावी मैदानमा उत्रिँदा ‘राम’ नामसँगै उनको राजनीतिक पुनरागमनको चर्चा भइरहेको छ।
जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमार दास तत्मा पहिलोपटक संघीय सांसद बन्ने लक्ष्यसहित चुनावी प्रतिस्पर्धामा छन्। ‘राजकुमार’ नामकै कारण उनी पनि यो ‘भगवान चर्चा’बाट अछुतो रहन सकेका छैनन्। मधेस केन्द्रित एजेन्डा बोकेर उनी मतदातामाझ पुगिरहेका छन्।
यसैबीच, पछिल्लो समय सामाजिक सञ्जालमा आफ्ना गतिविधि र अभिव्यक्तिका कारण चर्चामा आएका ऋषि धमलाले पत्रकारिता छाडेर आम जनता पार्टीबाट उम्मेदवारी दिएसँगै चुनावी माहोल थप रोचक बनेको छ। ‘ऋषि’ नामसँगै उनको आक्रामक शैली र प्रस्तुतीले विशेषगरी युवापुस्ताको ध्यान तानेको देखिन्छ।
चुनावी मैदानमा अब भगवान गणेशको पनि प्रवेश भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका गणेश पौडेललाई सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘बाधा हटाउने भगवान’को संज्ञा दिन थालेका छन्। “यसपटक गणेश आए, अब समीकरण बिग्रिन्छ” भन्ने टिप्पणीहरू समेत देखिन थालेका छन्। नयाँ राजनीतिक शक्तिको प्रतिनिधित्व गर्दै मैदानमा उत्रिएका पौडेललाई वैकल्पिक राजनीतिका पक्षधरहरूले चासोका साथ हेरिरहेका छन्।
उता, कुलमान घिसिङ नेतृत्वको दलबाट उम्मेदवार बनेका तुलसीराज गिरी दोस्रोपटक रौतहट–४ बाट चुनावी मैदानमा उत्रिएका अनुभवी उम्मेदवार हुन्। उनी यसअघि तत्कालीन मालेबाट पनि यही क्षेत्रबाट चुनाव लडिसकेका थिए।
यसरी हेर्दा रौतहट–४ को चुनावी प्रतिस्पर्धा केवल राजनीतिक अंकगणितमा सीमित नरही नामकै कारण पनि चासो, चर्चा र व्यंग्यको विषय बनेको छ। सामाजिक सञ्जालमा चलिरहेको ‘भगवानै–भगवान’ बहसले चुनावी माहोललाई अझै तातेको छ।
अब अन्तिम निर्णय मतदाताको हातमा छ।
यी देवी, राम, ऋषि, राजकुमार र गणेशमध्ये अन्ततः रौतहट–४ को जनमतले कुन ‘भगवान’लाई जितको माला लगाइदिन्छ, त्यो भने मतदानपछि मात्रै स्पष्ट हुनेछ।