रौतहट,११ माघ । नेकपा एमाले रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार रामजी शाहले किसानका समस्या समाधानलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाउँदै चुनावी मैदानमा होमिएका छन् । कृषिप्रधान देश नेपालमा, विशेषगरी अन्न भण्डारको रूपमा चिनिने मधेस प्रदेशका किसानले वर्षौंदेखि भोग्दै आएका समस्याहरूलाई संसद्मा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता उनले जनाएका छन् ।
रौतहट क्षेत्र नम्बर ४ का किसानहरूले लामो समयदेखि मलखादको अभाव, सिँचाइको समस्या, बिउबिजनको सहज उपलब्धता नहुनु तथा आधुनिक कृषि प्रविधिको कमी जस्ता समस्या भोग्दै आएका छन् । यी सबै समस्यालाई नजिकबाट बुझेको र अनुभूत गरेको बताउँदै उम्मेदवार शाहले आफू निर्वाचित भएमा किसानका हरेक समस्यालाई नीतिगत रूपमा समाधान गर्न पहल गर्ने बताएका छन् ।
पहिलोपटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका शाह व्यावसायिक पृष्ठभूमिका व्यक्ति हुन् । उनले आफ्नो व्यावसायिक अनुभव र किसानसँगको प्रत्यक्ष सम्बन्धका आधारमा जिल्लाका कृषि समस्या पहिचान गर्न सहज भएको बताउँदै आएका छन् । “कृषिमा आधुनिक प्रविधि, वैज्ञानिक खेती र उचित बजार व्यवस्थापन गर्न सकियो भने देशकै मुहार फेर्न सकिन्छ,” शाहको भनाइ छ ।
उनले किसानका समस्या केवल भाषणमा सीमित नराखी संसद्मार्फत नीति निर्माण गरेर समाधान खोज्ने स्पष्ट दृष्टिकोण अघि सारेका छन् । विशेषगरी मधेसका किसानले हरेक वर्ष भोग्दै आएको मलखादको दीर्घकालीन समस्यालाई सदाका लागि अन्त्य गर्न सरकारस्तरमै पहल गर्ने उनको प्रतिबद्धता छ । “किसानले समयमा मल नपाउने अवस्था अब अन्त्य हुनुपर्छ,” उनले भने ।
त्यसैगरी, रौतहट क्षेत्र नम्बर ४ मा सिँचाइको अभावले खेती प्रणाली प्रभावित हुँदै आएको उल्लेख गर्दै उनले सिँचाइ पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्ने बताएका छन् । बिउबिजनको सहज उपलब्धता, गुणस्तरीय कृषि सामग्री, तथा किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्ने कार्यक्रम ल्याउन आफू लाग्ने उनले बताएका छन् ।
चुनावी अभियानका क्रममा उम्मेदवार शाहले मतदाता तथा सर्वसाधारणसँगको भेटघाटलाई तीव्र पारेका छन् । गाउँ–गाउँ पुगेर किसानसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या सुन्ने र समाधानको खाका प्रस्तुत गर्ने प्रयासमा उनी देखिएका छन् । किसानकै पक्षमा नीति बनाएर समस्या समाधान गर्न आफूलाई मतदान गर्न उनले क्षेत्र नम्बर ४ का आम सर्वसाधारणसँग आग्रह गरेका छन् ।
किसानमैत्री नीति, आधुनिक कृषि प्रविधि र दीर्घकालीन समाधानको प्रतिबद्धतासहित उम्मेदवार रामजी शाह चुनावी मैदानमा होमिँदा, रौतहट क्षेत्र नम्बर ४ का किसानमा आशा र अपेक्षा बढ्दै गएको देखिन्छ ।








