काठमाडौं । जेन-जी रेड फोर्सकी संयोजक स्मृति तिमिल्सिनालाई प्रहरीले करिब ४ घण्टा सोधपुछपछि छाडेको छ । सरकारविरोधी स्टाटस लेखेको आरोपमा सादा पोशाकका प्रहरीले आफूलाई नियन्त्रणमा लिएको उनको दाबी छ ।
तिमिल्सिनाका अनुसार अनामनगर क्षेत्रमा रहेका बेला केही व्यक्ति अन्तरवार्ता लिने बहानामा नजिकिएका थिए । “हामी पनि कम्युनिष्ट विचारधारा राख्छौं” भन्दै आएका ती व्यक्तिले जबर्जस्ती गाडीमा हालेर प्रहरी कार्यालय पुर्‍याएको उनको भनाइ छ । उनले उक्त घटना ‘अपरहरण शैली’मा भएको दाबीसमेत गरेकी छन् ।
गाडीमा बसेपछि मात्रै उनीहरूले आफू प्रहरी भएको खुलाएको तिमिल्सिनाले बताइन् । त्यसपछि सोधपुछका लागि लगिएको जानकारी गराइएको उनको भनाइ छ ।
तिमिल्सिनाले आफूले सरकारविरुद्ध अभिव्यक्ति नदिएको जिकिर गर्दै ‘फ्री–तिब्बत’जस्ता नारा नेपालमा उपयुक्त नहुने भन्दै व्यवहारिक धारणा राखेको बताएकी छन् । चीन–नेपाल सम्बन्धलाई ध्यानमा राखेर टिप्पणी गरेको उनको दाबी छ ।
उनका अनुसार प्रहरी कार्यालयमा लगेर सरकारविरुद्ध नबोल्ने प्रतिबद्धतासहित कागज गराएर दिउँसो २ बजे छाडिएको हो ।
उता काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले भने तिमिल्सिनालाई सोधपुछका लागि बोलाइएको बताएका छन् । उनका अनुसार तिमिल्सिनाले डिजिटल प्लेटफर्ममार्फत दुई देशबीचको सम्बन्धमा असर पार्ने खालको अप्रमाणित सूचना सार्वजनिक गरेकी थिइन् ।
चीन–नेपाल सम्बन्ध खलल पुग्ने विषय उठाएकाले धारणा बुझ्न बोलाइएको र आवश्यक प्रक्रिया पूरा गरी छाडिएको प्रहरीले जनाएको छ ।