रुपेन्द्र पटेल
रौतहट, २८ वैशाख । रौतहटमा एचआइभी/एड्स संक्रमितको संख्या बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय रौतहटका अनुसार हाल जिल्लामा ५ सय ४० जनामा एचआइभी संक्रमण पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश सिंहका अनुसार संक्रमितमध्ये ४ सय २५ जना नियमित रुपमा एन्टिरेट्रोभाइरल (एआरटी) औषधि सेवन गरिरहेका छन् भने बाँकी १ सय १५ जना जिल्ला बाहिर बसोबास गर्ने वा नियमित उपचार सम्पर्कमा रहेका छैन् ।
कार्यालयका अनुसार सबैभन्दा बढी जिल्लाको राजपुर नगरपालिकामा ६७ जना संक्रमित रहेका छन् । पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिभन्दा जिल्लामै कार्यरत चालक, प्रहरी तथा मजदुरमा संक्रमण बढी देखिन थालेको प्रमुख सिंहले बताउनुभयो ।
उहाँले एचआइभी संक्रमण रोकथामका लागि सुरक्षित यौन व्यवहार तथा कण्डमको सही प्रयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । जिल्लामा कण्डम प्रयोग गर्नेको संख्या बढे पनि यसको सही प्रयोग नभएको र त्यसबारे पर्याप्त जनचेतना अभाव रहेको उहाँको भनाइ छ ।
प्रादेशिक गौर अस्पतालका डा. शशि गुप्ताले एचआइभी संक्रमण असुरक्षित यौन सम्पर्क, संक्रमित रगतको प्रयोग, संक्रमित सुई तथा सिरिन्जको प्रयोग र संक्रमित आमाबाट शिशुमा सर्न सक्ने बताउनुभयो । उहाँका अनुसार नियमित परीक्षण, समयमै उपचार, सुरक्षित यौन व्यवहार तथा कण्डमको प्रयोगबाट संक्रमण नियन्त्रण गर्न सकिन्छ ।
डा. गुप्ताले एचआइभी संक्रमित व्यक्तिले नियमित रुपमा एआरटी औषधि सेवन गरे सामान्य जीवनयापन गर्न सक्ने बताउँदै रोग लुकाएर बस्नुभन्दा स्वास्थ्य संस्थामा सम्पर्क गरी उपचार लिन आग्रह गर्नुभयो ।








