काठमाडौं । बर्डफ्लुको मारले कुखुरा व्यवसाय थला पर्दै जाँदा अन्डाको मूल्य फेरि उकालो लागेको छ । नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागू हुने गरी प्रतिक्रेट ३५ रुपैयाँले मूल्य बढाएको हो । चार दिनको अन्तरमै दोस्रो पटक मूल्य बढेपछि उपभोक्ताको भान्सा झन् महँगिने संकेत देखिएको छ ।
नयाँ मूल्यअनुसार मिडियम अन्डा प्रतिक्रेट ४ सय ३५ रुपैयाँ पुगेको छ । यसअघि यसको मूल्य ४ सय रुपैयाँ थियो । ठूलो (लार्ज) अन्डा अब ४ सय ८५ रुपैयाँ र एक्सएल अन्डा ५ सय रुपैयाँ पुगेको संघले जनाएको छ ।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार देशका विभिन्न क्षेत्रमा फैलिएको बर्डफ्लुका कारण ५ लाखभन्दा बढी लेयर्स कुखुरा नष्ट भएपछि उत्पादनमा ठूलो गिरावट आएको छ । मागअनुसार बजारमा अन्डा नपुग्दा मूल्य बढाउनु बाध्यता बनेको उनको दाबी छ ।
‘मूल्य बढ्दा किसानलाई फाइदा भयो भन्ने होइन,’ पोखरेलले भनेका छन्, ‘उत्पादन लागत असाध्यै बढेको छ, सरकारले राहत दिएन भने धेरै किसान विस्थापित हुने अवस्था आउँछ ।’
बजारमा अन्डाको मूल्य बढेपछि यसको प्रत्यक्ष असर उपभोक्तामाथि पर्ने देखिएको छ । बर्डफ्लुले कुखुरा व्यवसायलाई संकटमा पुर्‍याएको बेला सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै व्यवसायीहरू असन्तुष्ट छन् ।