चन्द्रपुर,१५ माघ ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ५ चादी नदीको किनारमा रहेको सुविधा सम्पन्न धर्मशाला निर्माण अन्तिम चरणमा पुगेको छ । चन्द्रपुर नगरपालिका वडा नं. ५ का स्थानीयवासिन्दा तथा समाजसेवी शम्भु भट्टराईको नेतृत्वमा चन्द्रनिगाहपुरस्थित चादी खोला किनारामा सन्तानेश्वर महादेवको मन्दिर समेत स्थापना भएको छ । उनै समाजसेवी भट्टराईको नेतृत्वमा सो स्थानमा धर्मशाला निर्माण भएको हो । भट्टराईको पहलमा सो स्थानमा करीव ८० लाखको लागतमा धर्मशालाको भवन निर्माण भएको हो । भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । वृद्ध शम्भु भट्टराईको पहलमा सो स्थानमा सन्तानेश्वर महादेवको मन्दिर समेत स्थापना भएको छ । धार्मिक प्रयोजनका लागि नेपाल तथा भारतबाट आउने हिन्दु धर्मावलम्वीहरुको लागि भट्टराईले विभिन्न स्थानमा पहल गरेर धर्मशालाको स्थापना गरेका हुन् । भट्टराईकै कारण चन्द्रपुर नगरपालिका वडा नं. ५ स्थित चादी पुल नजिक सो धर्मशालाको निर्माण गरिएको हो । उनकै पहलमा मधेश प्रदेश अन्तर्गतको सामाजिक विकास मन्त्रालयबाट उनले ८० लाख रुपैया बजेट ल्याएर धर्मशालाको निर्माण गरेका हुन् । सो स्थानमा बनेको भवनका लागि आवश्यक सामाग्री अझै अभाव भएको भट्टराईको भनाई रहेको छ । उनले सो स्थानलाई धार्मिक, पर्यटकीय स्थल बनाउनकालागि आफ्नो तर्फबाट सक्दो सहयोग गरेका छन् । बयोवृद्ध शम्भु भट्टराईका े काममा साथ दिने कोही नभएपनि उनले आफ्नै तर्फबाट सो स्थानमा रहेको सन्तानेश्वर महादेवको मन्दिर बनाउने देखि अन्य काममा आफै खट्दै आएका छन् । चन्द्रनिगाहपुरमा समाजसेवामा आफ्नो नाम उच्च बनाउन सफल रहेका भट्टराईको काममा चन्द्रपुर नगरपालिकाले कुनै लगानी नगरेको उनले बताए । वडा देखि नगरपालिकासम्मले सन्तानेश्वर महादेव मन्दिर रहेको स्थानमा एक रुपैया लगानी नगरेको उनले बताए । सो स्थानलाई धार्मिक पर्यटकीय स्थल बनाउनकालागि चन्द्रपुर नगरपालिकाले आफुहरुलाई सहयोग नगरेको स्थानीय विमल भट्टराईको भनाई रहेको छ । धार्मिक पर्यटकीय स्थल बनाउनकालागि आफुहरुले पहल गरेको भएपनि चन्द्रपुर नगरपालिकाले सन्तानेश्वर महादेव मन्दिरका लागि कुनै आर्थिक सहयोग नगरेकोस्थानीयको भनाई रहेको छ । २०७९ माघ १५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।