चन्द्रपुर,१० असोज ।
चन्द्रनिगाहपुर सरकारी अस्पतालमा हिजो आज सेवाग्राहीको भिड थामिनसक्नु हुने गरेको छ । केही महिना पहिला सम्म सुनसान रहने गरेको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा डाक्टर अभिनन्दन श्रीवास्ताव आएपछि सेवाग्राहीको भिड लाग्ने गरेको हो ।
सरकारी अस्पतालमा काम गर्ने डाक्टरले चाहेमा अस्पतालको अवस्थामा सुधार ल्याउन सकिन्छ भन्ने कुराको उदाहारण बनेकाछन्,चन्द्रनिगाहपुर सरकारी अस्पतालका डाक्टर श्रीवास्तव ।
हिजो आज डाक्टर श्रीवास्तवसंग चेकजाँच गराउनका लागि सर्वसाधारण घन्टौ सम्म लाईनमा बस्ने गरेकाछन् । श्रीवास्तवकै कारण चन्द्रनिगाहपुर सरकारी अस्पताल प्रती सर्वसाधारणको विस्वास बढेको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा सेवा लिन आएका सन्तपुरका स्थानीय बासिन्दा चित्रप्रसाद तिमलसिनाले बताए ।
जिल्लाको चन्द्रपुर नगरपालिकामा रहेको सरकारी अस्पताल आफै बिमारी परेको छ । एक बर्ष पहिला सम्म अस्पतालको अवस्था लथालिगं रहेको थियो । एक बर्ष अघि सम्म १५ बेडको सरकारी अस्पतालबाट सेवाग्रहीले समान्य उपचार समेत पाउन नसकेको गुनासो थियो ।
अस्पतालमा सेवाग्रहीले समान्य उपचार समेत नपाउने गरेको गुनासो आईरहेको बेला चन्द्रनिगाहपुर सरकारी अस्पतालमा डाक्टर श्रीवास्तव आएका थिए ।
अहिले अस्पतालमा पालो पाउन मुस्कील भएपनि सर्बसाधारण लाईनमा बसेरै भएपनि सरकारी अस्पतालबाट सेवा लिने गरेको अस्पातलमा सेवा लिन आएका दिपक पौडेलले बताए ।
अहिले सरकारी अस्पतालमा बिहानैदेखी सर्वसाधारणको भिड लाग्ने गरेको कर्मचारीहरुले बताएकाछन् । सरकारी अस्पतालप्रति सर्बसाधारणको विस्वास बढदै जान थालेकाले भिड भाड बढेको र सेवा लिनेको संख्यामा समेत बढोत्तरी भएको चन्द्रनिगाहपुरका स्थानीय बासिन्दा प्रलाद गौतमको भनाइ रहेको छ ।
चन्द्रनिगाहपुर सरकारी अस्पतालमा कम्तीमा पाँच जना डाक्टरको आवश्यकता भएको भएपनि अहिले २ जना डाक्टरलाई उपचारमा कठिनाई भएको कर्मचारीहरु बताउछन् ।
चन्द्रनिगाहपुर सरकारी अस्पतालमा हिजो आज दैनिक चार देखी पाँच सय नयाँ बिमारी आँउने गरेकाछन्,भने पुराना एक सय देखी एकसय पचासको हाराहारीमा बिमारी आँउने गरेका छन् ।
ती सबै बिमारीलाई दुईजना डाक्टरले चेकजाँच र उपचार गर्नुपर्ने बाध्यता रहेको छ । सरकारी अस्पतालमा रहेको एक्सरे मेशिनले दिनमा १० वटा मात्र एक्सरे गर्ने गरेका कारण अस्पातलमा अर्को एक्सरे मेशिनको खाँचो रहेको कर्मचारीहरुको भनाइ रहेको छ ।
सरकारले तोकेका सबै निशुल्क औषधी अस्पतालमा रहेको र अस्पतालले दिने सेवालाई थप प्रभावकारी बनाउनका लागि आफुहरु लागि परेको चन्द्रपुर नगरपालिकाका प्रमुख संजय कुमार काफ्लेले तराई एक्सप्रेसलाई बताए ।








