देवाही,१० असोज ।
जिल्लाको देवाही गोनाही नगरपालिका अन्र्तगत मलङ चौक देखि देवाही जाने बाटो बनेको केही समयमै भत्केको छ ।
ठेकेदारको चरम लापारवाहीका कारण सडक पिच भएको केही समय नबित्दै भत्किएको स्थानीय बासिन्दा तथा नेकपा एमालेका नेता रुपेश पटेलले बताएकाछन् । ठेकेदार नागेन्द्र साहको निर्माण कंम्पनीले तीन महिना पहिला बनाएको सडक भत्किएको पटेलको भनाइ रहेको छ ।
निर्माण कम्पनी र सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका ईन्जिनियरको मिलेमतोमा सो सडकको काम गुणस्तरहिन भएका कारण बनेको तीन महिनामै भत्किएको भन्दै सामाजिक संजालमा चर्को आलोचना भइरहेको छ ।
पिच सडकको ठाँउ ठाँउमा बिच सडकमै भ्वाङ परेका कारण सवारी दुर्घटनाको खतरा समेत बढदै जान थालेको स्थानीय बासिन्दाले बताएकाछन् ।
सो सडक आम जनता पार्टीका अध्यक्ष तथा पुर्व मन्त्री प्रभु साहका भाईको निर्माण कम्पनीले बनाएको हो । सडक गुणस्तरहिन भएका कारण बनेको तीन महिना नपुग्दै भत्किएकाले सडक पुन निर्माण गर्नका लागि स्थानीय बासिन्दाले सम्बन्धीत निकायसंग आग्रह गरेका छन् ।
स्थानीय गुणस्तरहिन सडक बनाउने ठेकेदार कम्पनी तथा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीलाई समेत कार्वाहीको माग गरेकाछन् ।
सडकको बिभिन्न स्थानमा बिचमै भ्वाङ परेका कारण दैनिक जसो सवारी दुर्घटना हुने गरेको स्थानीयले बताए ।
स्थानीय बासिन्दाले सडक डिभिजन कार्यालयका कर्मचारी र ठेकदार कम्पनीलाई चाडो भन्दा चाडो कार्वाही गरेर सडक पुन निर्माण गर्नुपर्ने माग राखेको स्थानीय बासिन्दा पटेलले बताए ।








