जनकपुर,९ पुस । मधेश प्रदेशको आठ वटै जिल्लाको खानेपानीमा आवश्यकता भन्दा बढी आइरनको मात्रा देखिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरको पानी परीक्षण प्रयोगशालाले प्रदेशका विभिन्न स्थानबाट सङ्कलन गरेको नमुना पानी परीक्षण गर्दा खानेपानीमा आवश्यकताभन्दा बढी आइरनको मात्रा देखिएको हो ।
प्रयोगशालाका शाखाका प्रमुख तथा रसायन विज्ञ कृष्णकुमार साहले आर्थिक वर्ष २०७९–०८० मा प्रदेशका आठ वटै जिल्लाको विभिन्न स्थानको एक हजार दुई सय ८८ वटा नमुना परीक्षण गर्दा आइरनको मात्रा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डभन्दा बढी भेटिएको बताउनुभयो । यसैगरी, चालू आर्थिक वर्षमा एक सय ३७ वटा नमुना परीक्षण गरिएकोमध्ये अधिकांशमा आइरनको मात्रा बढी देखिएको उनले जानकारी दिए ।
राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डले प्रतिलिटर खानेपानीमा बढीमा शून्य दशमलव तीन एमजी आइरन हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको भएपनि प्रतिलिटर शून्य दशमलव आठ एमजीसम्म आइरन भेटिएको रसायन विज्ञ साहको भनाइ छ । उनका अनुसार प्रदेशका विभिन्न सामुदायिक विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालय गरी छ सय ७३ ट्युबवेल, एक सय १५ वटा खानेपानी आयोजना र पानी परीक्षण प्रयोगशालामा प्राप्त पाँच सय वटा नमुनाको परीक्षण गरिएको थियो । परीक्षण गरिएको पानीमा ६२ दशमलव ८ प्रतिशत आइरनको मात्रा देखिएको छ । त्यस्तै, ३२ दशमलव ६ प्रतिशत धमिलोपना र १६ दशमलव ०४ प्रतिशत पानीमा मेनगानिजको मात्रा बढी छ ।
थोरै मात्राको आइरनले स्वास्थ्यलाई ठिक गर्ने भएपनि बढी मात्राले स्वास्थ्य लगायतका विभिन्न कुरामा असर गर्ने उनले जानकारी दिएका छन् । उनले भने, “आइरन बढी हुँदा पानीको रङ परिवर्तन हुने, स्वाद परिवर्तन हुने, गन्ध आउने, नुहाउँदा कपाल झर्ने, सेतो कपडामा बिस्तारै पहेँलो दाग बस्दै जाने हुन्छ ।“
प्रयोगशालाका सहायक रसायन विज्ञ मनोज अधिकारीले अरू जिल्लाको तुलनामा सप्तरी जिल्लाको खानेपानीमा बढी आइरनमा मात्रा भेटिएको बताए । उनले ८० प्रतिशतभन्दा बढी ट्युबवेलको पानीमा आइरन र आर्सेनिक भेटिएको जानकारी दिए ।
सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरले मधेश प्रदेशभित्र खानेपानीको गुणस्तर जाँच गर्न घुम्ती सेवासमेत सञ्चालन गरेको छ । प्राविधिक टोली र अत्याधुनिक उपकरणसहित पानीको गुणस्तर परीक्षण गर्न घुम्ती सेवा सञ्चालन गरिएको छ ।
घुम्ती टोलीले गत आर्थिक वर्षमा प्रदेशका आठ वटै जिल्लाको विभिन्न स्थानमा पुगेर सात सय ८८ वटा स्थानको पानी परीक्षण गरेको प्रयोगशालाका प्रमुख साहले जानकारी दिएका छन् । पानी पिउन योग्य भए पिउनका लागि सल्लाह दिने र योग्य नभए शुद्धीकरण गरेर पिउन भन्ने गरेको उनले बताए ।