वीरगञ्ज,९ पुस । यात्रुबाहक बसमा प्याजको तस्करी पछिल्लो समय पर्सा र बाराबाट यात्रुबाहक सवारी साधनबाट प्रहरीले धमाधम प्याज बरामद गरिरहेको छ । पर्साको वीरगञ्ज, बाराको कलैयालगायत स्थानबाट छुट्ने रात्रि र दिउँसो चल्ने विभिन्न यात्रुबाहक सवारी साधनबाट प्रहरीले चेकजाँचको क्रममा अवैध प्याज बरामद गरिरहेको छ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि अहिले बजारमा प्याजको मूल्य ह्वातै बढेको छ। प्याजको मूल्य बढेसँगै यात्रुबाहक सवारीसाधनमा लुकाएर देशका विभिन्न स्थानमा लग्ने गरिएको प्याज प्रहरीले बरामद गर्दै आएको छ । चेकजाँचको क्रममा ती सवारी साधनहरुबाट बरामद प्याजको बिलबिजक भने भेटिँदैन। यस्तै, केहीको भने बिलभन्दा बढी प्याज गाडीमा लोड गरिएको देखिन्छ ।
पुस ४ गते एकैदिन बाराको जितपुर सिमरा उपमहानगरपालिकाको जितपुर,अम्लेखगञ्जमा चेकजाँचको क्रममा ६ वटा यात्रुबाहक बसबाट प्रहरीले १५ क्विन्टल १० केजी प्याज बरामद गरेको थियो। बरामद प्याजको बिलबिजक नभएकोले नियन्त्रणमा लिइएको तथा यात्रुबाहक बसलाई भने गन्तव्यतर्फ जान दिइएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।
यस्तै, पुस ३ गते बारा प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोकमा गाडीहरू रोकेर चेकजाँच गर्दा बिलबिजकभन्दा कम, स्रोत खुलाउन नसकेको अवैध भन्सार छलीको ११ क्विन्टल प्याज तीन वटा यात्रुबाहक बसबाट बरामद गरेको थियो । यस्तै, २ गते पनि ५५ हजार मूल्य बराबरको १० क्विन्टल प्याज बारा प्रहरीले बरामद गरेको थियो। यस्तै, गत मंसिर २९ गते स्रोत खुलाउन नसकेको २५ क्विन्टल प्याज पिकअपबाट बारा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
बारासँगै पर्सामा पनि प्रहरीले प्याज बरामद गरेको छ। गत पुस १ गते वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकमा ना ४ च ८७१३ नम्बरको मालवाहक पिकअपलाई रोकेर जाँच गर्दा बिलबिजकभन्दा बढी १ लाख ४७ हजार ७५० रुपैयाँ बराबरको प्याज बरामद गरेको थियो । प्याज बोकेको मालबाहक पिकअप वीरगञ्जबाट चितवनतर्फ जाँदै थियो ।
यसैबीच वीरगञ्जबाट चितवन तर्फ गइरहेको पिकअप गाडीबाट बारा प्रहरीले अवैध प्याज बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बारा मातहतअन्तर्गत पर्ने इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले शनिवार वीरगञ्जबाट चितवन तर्फ गइरहेको प्रदेश २–०३–००१ च ६२०३ नम्बरको पिकअप गाडी आठ अवैध प्याज बरामद गरेको हो ।
बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेका अनुसार वीरगञ्जबाट चितवन तर्फ गइरहेको पिकअप ट्रकलाई प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका – ७ जितपुरस्थित सडक खण्डमा रोकेर चेकजाँच गर्दा त्यसमा बिलबिजक भन्दा बढीको प्याज लोड रहेको पाइएको थियो ।
चालकले प्याजको स्रोत खुलाउन नसकेपछि पिकअपसहित प्रहरीले ६० वटा बोरामा राखिएको झन्डै तिन हजार किलोग्राम प्याज नियन्त्रणमा लिएको डिएसपी न्यौपानेले जानकारी दिए । नियन्त्रणमा लिइएको प्याजको अनुमानित मूल्य एक लाख ८१ हजार रुपैयाँ रहेको न्यौपानेले बताए । पिकअप र प्याजलाई नियन्त्रणमा राखेर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको उनले बताए ।