रौतहट ,११ माघ । रौतहटको वनमा व्यापक रूपमा खयरका रुख फडानी भएको समाचार प्रकाशन भएपछि भएको तीन दिनपछि वन कार्यालय घटनास्थलमा पुगेको छ। रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर २ स्थित महादेव डाँडाको राष्ट्रिय वनमा व्यापक रूपमा बहुमूल्य जातका खयरका रुख फडानी भएको समाचार तराई एक्सप्रेस दैनिकमा प्रकाशन भएपछि डिभिजन वन कार्यालय रौतहटको ध्यानाकर्षण भएको हो। तराई एक्सप्रेस दैनिक लगायतका सञ्चार माध्यमले सो स्थानमा बहुमूल्य जातका खयरका काँचा रुख फडानी भएको विषयमा समाचार प्रकाशन गरेको तीन दिनपछि आज डिभिजन वन कार्यालय रौतहटका कर्मचारी घटनास्थलमा पुगेका हुन् । डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्र सहितको टोली घटनास्थलमा पुगेर गाउँबाट केही फडानीमा प्रयोग भएका आरा लगायतका सामान बरामद गरेर डिभिजन वन कार्यालयमा ल्याएको वन कर्मचारीहरूले बताएका छन्। सो स्थानमा दर्जनौं काँचा बहुमूल्य जातका खयरका रुखहरू काटिएको समाचार तराई एक्सप्रेस दैनिकले प्रकाशन गरेको तीन दिनपछि वन कार्यालयका कर्मचारीहरु घटनास्थल पुगेको भन्दै स्थानीय बासिन्दाले उनीहरूको विरोध गरेका थिए ।








