चन्द्रनिगाहपुर,१५ असोज । रौतहटको चन्द्रनिगाहपुरमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले संयुक्त रुपमा चन्द्रनिगाहपुरको मुख्य चोकमा नागरिक सहायता कक्ष स्थापना गरेको हो।
आउँदो चाडबाडहरूलाई लक्षित गरी चन्द्रनिगाहपुरको मुख्य चोकमा नागरिक सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक लोकेन अधिकारीले जानकारी दिएका छन् । मङ्गलबारबाट चन्द्रनिगाहपुरको मुख्य चोकमा स्थापना गरिएको नागरिक सहायता कक्षले राजमार्गमा हिँड्ने यात्रुहरूको समस्या तथा गुनासोहरु सुन्ने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले जानकारी दिए । नागरिक सहायता कक्षमा बस्ने प्रहरी र ट्राफिक प्रहरीले राजमार्गमा चाडबाडका बेला यात्रुसँग बढी भाडा असुल्ने सवारी साधनलाई कारबाही गर्ने र अपराधिक गतिविधिलाई नियन्त्रण गर्ने डिएसपी राईले बताए ।